काठमाडौं महानगरले ताेक्याे काठमाडौंका ३३ स्थानबाट फूलमाला बिक्री, प्लास्टिकका फूलमालामा प्रतिबन्ध
काठमाडौं, २२ कात्तिक । काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै स्वदेशी फूलमाला बिक्रीका लागि ३३ स्थान निर्धारण गरेको छ। महानगरले तोकेका बिक्रीस्थलमा तिहारलाई लक्षित गर्दै स्वदेशी फूलमाला किन्ने र बेच्नेको चहलपहल बढेको छ।
महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेका फूलले बजार पाउने र उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले वातावरण विभागसँगको समन्वयमा बिक्रीस्थल तोकेको हो।
नयाँ बानेश्वर, शंखमुल, मध्यबानेश्वर, बत्तीसपुतली, तीनकुने, सिफल, चाबहिल, कमलादी, पुतलीसडक, अनामनगर, सुन्धारा, न्युप्लाजा, स्वयम्भू, कलंकी, नयाँ बजार, माछापोखरी, कालिमाटी, हाँडीगाउँ, सामाखुसी, महाराजगञ्ज, गोंगबु, बालुवाटारलगायतका क्षेत्रमा फूलमाला बिक्री गर्न सकिने व्यवस्था गरिएको छ।
त्यसैगरी टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपलाई पनि बिक्रीस्थलका रूपमा तोकिएको महानगरले जनाएको छ।
महानगर प्रहरी बलले जारी गरेको सूचनाअनुसार प्रतिबन्धको अवज्ञा गर्दै प्लास्टिकजन्य फूलमाला वा गुणस्तरहीन फूल तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिनेछ।
महानगरले स्वदेशी उत्पादनको प्रवर्द्धन, नेपाली किसानलाई बजारको सुनिश्चितता र वातावरण संरक्षणका लागि प्लास्टिकजन्य फूलमालाको बिक्रीमा रोक लगाएको हो।
