म्याग्दीमा मानवीय लापर्बाहीले डढेलोको जोखिम बढ्दै

म्याग्दी, १ फागुन । म्याग्दी मा मानवीय लापर्बाहीले डढेलोको जोखिम बढ्दै गएको छ । घाँस पलाउने बाहना, अवैध शिकार र आगोको जथाभावी प्रयोगले वन जङ्गलमा डढेलोको जोखिम बढेको हो ।

विगतका वर्षमा यो समयमा हिउँले ढाकिने धौलागिरि, अन्नपूर्ण, नीलगिरि र गुर्जा हिमाल आसपासका पहाड र जङ्गल डढेलोले काला पहाडमा परिणत हुन थालेका छन् ।

धौलागिरि गाउँपालिका–७ का ओमबहादुर घिमिरेले हिउँले सेताम्मे हुनुपर्ने पहाड काला पत्थरमा परिणत भएर कुरुप देखिएकाे बताउनुभयो । “पहाड र जङ्गल डढेलोले कुरुप बनायो”, उहाँले भन्नुभयो, “हिमपात र वर्षा नहुँदा सुक्खा भएका पहाडलाई आगोले डढाउँदा नराम्रो देखिएको मात्र होइन तापक्रम वृद्धि, धुँवा, धुलोले वायु प्रदूषण भएको छ ।”

बर्सात र हिमपात नहुँदा सुक्खा बनेका पहाड र जङ्गल डढेलोले सखाप भएका हुन् । रुख बिरुवा, जडीबुटी, वन्यजन्तु र पन्छीको वासस्थान डढेलोबाट नष्ट भएको छ । डिभिजन वन अधिकृत मनोज रानाभाटले अधिकांश ठाउँको डढेलोको कारण मानवीय लापर्बाही देखिएको बताउनुभयो ।

“गोठालाले घाँसका लागि, शिकारीले वन्यजन्तु भगाउन र खेतबारीको झारपात नष्ट गर्ने क्रममा सावधानी नअपनाउँदा डढेलो लागेको पाइएको छ”, उहाँले भन्नुभयो, “भिरालो जमिन, भौगोलिक विकटता र पानीको सहज उपलब्धता नहुने भएकाले डढेलो नियन्त्रण गर्न चुनौती छ ।”

गोठालाले राम्रो घाँस पलाउँछ भनेर जङ्गल र भिरमा आगो लगाउने चलन छ । शिकारीले वन्यजन्तु र पन्छीलाई भगाउन डढेलो लगाउँछन् । म्याग्दीमा दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । ३६ दशमलव ७६ प्रतिशत वन, एक दशमलव ८५ प्रतिशत झाडी र २१ दशमलव २७ प्रतिशत चरन क्षेत्र छ । तीन सय १० वटा सामुदायिक वन उपभोक्ता समूह छन् ।

सहायक वन अधिकृत नरबहादुर क्षेत्रीका अनुसार जिल्ला र छवटै पालिकास्तरमा वन डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको छ । सम्भव भएको ठाउँमा मानवीय र भौतिक सम्पत्ति जोगाउने रणनीति लिइएको छ । सञ्चारमाध्यममार्फत सूचना प्रकाशन/प्रसारणसँगै विभिन्न विद्यालयमा र वन उपभोक्ता समूहस्तरमा डढेलो नियन्त्रणसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।