विराटनगर महानगरपालिकाकाे निःशुल्क एकीकृत स्वास्थ्य शिविर

मोरङ, १ फागुन । विराटनगर महानगरपालिकाले विराटनगरको दक्षिणी क्षेत्रबाट स्वास्थ्य शिविर सुरु गरेको छ ।

महानगरले आइतबारदेखि वडा नं १८ फडानी चोकबाट निःशुल्क एकीकृत स्वास्थ्य शिविर थालनी गरेको हो । शिविर महानगरका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सञ्चालन गरिएकाे बताए ।

उनले महानगरका अन्य वडामा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी गराउँदै भने “महानगरवासीको स्वास्थ्यप्रति हामी गम्भीर छौँ”, “महानगरले तपाईंहरूकै घरआँगनमा आएर स्वास्थ्य चेकजाँच सुरु गरेको छ । यसबाट बढीभन्दा बढी लाभ लिन म महानगरवासीलाई आग्रह गर्दछु ।”

उपप्रमुख शिल्पा निराला कार्कीले दक्षिणी क्षेत्रलाई महानगरले उच्च प्राथमिकता राखेको बताउँदै यस्ता शिविरबाट रोगको बेलैमा पहिचान हुने र समयमै उपचार गर्दा पछि समस्या नहुने बताइन् ।

शिविरमा फिजिसियन, सर्जरी, स्त्री तथा प्रसूति रोग, बालरोग, मुख तथा दन्तरोग, छाला तथा यौनरोग, इसिजी सेवा, भिडियो एक्सरे, उच्च रक्तचाप, सुगर, क्षयरोगका बिरामीको खोजलगायतका सेवा प्रवाह गरिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जनाए ।

नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, कोसी अस्पताल र नाटाको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा तीन सय १९ जनाले सेवा लिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *