गैंडा किन लुखुरलुखुर सडकमा आउँछन् ?

नवलपरासी, ३ फागुन । गएको केही समयदेखि नवलपरासी, चितवनमा जंगलका गैंडाहरू गाउँ मात्र होइन नगरको बजार क्षेत्रमै लुुखुरलुुखुर हिँडिरहेको देखिन थालेका छन् ।

अहिले चितवनको सौराहामा त्यसरी गैंडा आउनु सामान्य जस्तो भइसकेको छ । एक पटक त हेटौंडाको बजार क्षेत्रमै पनि गैंडा दौडेको थियो ।

आखिर जंगलमा बस्नुपर्ने यी गैंडाहरू किन यसरी गाउँ शहर घुम्न आइरहेका होलान् ?

नवलपरासीमा हालै गरिएको एक अध्ययनमा एकै रातमा १०९ वटासम्म गैँडा जंगलबाट निस्केर बस्ती पसेको पाइएको छ । नवलपरासीमा मात्रै ६१ ठाउँबाट ती गैँडा निकुञ्जबाट बाहिरिएका हुन् । यिनीहरु साँझको समयमा गाउँ पस्ने र झिसमिसेमा वन पस्ने गरेको अध्ययनले देखाएको छ ।

चितवनका विभिन्न नाकाबाट गैँडा दैनिक साँझमा बस्ती पस्ने गर्दछन् । राप्ती, नारायणी नदी छेउबाट र माडीका वन क्षेत्रबाट दैनिक गैँडा बस्ती पस्ने गरेका छन् । यकिन तथ्याङ्क नभए पनि ठूलो संख्यामा गैँडा बस्ती पस्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभयो । उहाँका अनुसार निकुञ्जको कसराबाट पश्चिमी क्षेत्रमा धेरै गैँडा बस्ती पस्ने गरेको गुनासो आउने गरेको छ ।

निकुञ्जमा चालू आर्थिक वर्षको साउनयता मरेका १२ गैँडामध्ये ११ वटा कसरा पश्चिममा फेला पारेको थियो ।

निकुञ्ज प्रमुख आचार्यका अनुसार निकुञ्ज भित्र गैंडाको संख्या बढ्नु तर त्यसको अनुपातमा घाँसेमैदान वृद्धि नहुनु नै गैंडा बाहिर हिँड्नुको प्रमुख कारण हो । प्रशस्त मात्रामा घाँसे मैदान नहुँदा आहारको खोजीमा गैँडा बस्ती पस्ने गरेको उहाँको भनाइ छ ।

गत माघमा करेन्ट लागेर नवलपरासीको सेरीमा दुई वटा गैँडा मरेपछि निकुञ्जले गैँडाकोटदेखि बगुवानसम्म अध्ययन गरेको थियो ।

उहाँका अनुसार नदीलाई तटबन्धन गर्दै गएपछि नदी साँघुरो बनेको तथा निकुञ्ज र आसपासका वन क्षेत्रमा घाँस कम भएसँगै गैँडा राति गाउँ पस्न थालेका हुन् ।

बस्ती नजिकका खेतबारीमा आलु, मकै, जौ, घाँस, नेपियर घाँस, मुसुरो, गहुँजस्ता बाली गैँडाले मन पराउने भएकाले पनि गैँडा बस्ती पस्ने गरेका हुन् ।

निकुञ्जमा गैँडाको संख्या बढेसँगै सोही अनुपातमा घाँसे मैदान व्यवस्थापन हुन सकेको छैन । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६९४ गैँडा छन् । तीमध्ये धेरै कसरा पश्चिम क्षेत्रमा छन् । त्यहाँ घाँसेमैदान र पानीका स्रोत व्यवस्थापनमा बढी जोड दिनुपर्ने उहाँको भनाइ छ ।

उता नियमित गैँडा बस्ती पसेर बाली खान थालेपछि स्थानीयवासीहरू भने पीडित छन् । तर पनि गैंडा संरक्षणमा स्थानीयवासीले आफ्नो तर्फबाट योगदान गर्न छोडेको छैन । आचार्य भन्नुुहुन्छ, ‘स्थानीयको सहयोगका कारण गैँडा संरक्षण सम्भव भएको हो ।’