पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई पक्राउ गरेको हो कि सुरक्षाका लागि नियन्त्रणमा लिइएको ? प्रहरीको विवरण फेरियो

काठमाडौं, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले घर पठाउने तयारी गरेको छ। आइतबार बिहान महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगिएका राणालाई परिवारको जिम्मा लगाएर घर पठाउन लागिएको हो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर कार्कीले राणालाई घर पठाउने तयारी भइरहेको जानकारी दिनुभयो। ‘उहाँ घर जानुहुन्छ, पठाउने तयारी हुँदैछ,’ कार्कीले भन्नुभयो।

राणालाई प्रहरीले बिहान करिब ३ बजे निवासबाट नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो। सुरुमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको भए पनि पछि सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा राख्न कार्यालयमा ल्याइएको बताएको छ।

प्रहरीले राणालाई सुरक्षा चुनौती के कारण उत्पन्न भएको थियो भन्नेबारे भने विस्तृत जानकारी सार्वजनिक गरेको छैन। राणालाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा सुरक्षाका लागि नियन्त्रणमा लिइएको हो भन्ने विषयमा समेत बिहानसम्म फरक विवरण सार्वजनिक भएका थिए।

यसअघि राणालाई पक्राउ गरिएको समाचार सार्वजनिक भएपछि पक्राउको कानुनी आधार र कारणबारे प्रश्न उठेका थिए। प्रहरीले भने सुरक्षा चुनौतीलाई कारणका रूपमा प्रस्तुत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *