नारायणगढ–मुग्लिन सडक खुल्यो, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने
चितवन, ११ असोज । अविरल वर्षाका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएपछि सडकमा सवारीसाधन सञ्चालनमा आएका हुन्।
सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार बिहान ७ः५५ बजे नाम्सीखोलामा लेदोसहितको पहिरो खसेको थियो। पहिरो हटाएपछि दिउँसो १२ः१५ बजेदेखि सडक सञ्चालनमा आएको हो।
सडक खुलेसँगै नारायणगढबाट पोखरातर्फ जाने तथा पोखराबाट नारायणगढतर्फ आउने सवारीसाधन र ढुवानीका साधन गन्तव्यतर्फ आवतजावत गरिरहेका छन्।
पृथ्वी राजमार्गका ११ स्थानमा पहिरो
लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार शीलतबजारमा लेदो र रुखसहितको पहिरो खस्नुका साथै सडक छेउ भासिएको छ। बेनिघाट बजारनजिक गोमती खोलामा लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ भने कृष्णभीरमा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ।
ज्यामिरेघाट चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खसेको छ। हुग्दी खोलादेखि जवाङखोलासम्म विभिन्न स्थानमा ढुङ्गासहितका साना पहिरो खसेका छन्।
फिस्लिङ आसपासका तीन स्थानमा गरी करिब २०० मिटर सडकमा ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ। त्यहाँ करिब ३० मिटर सडकको आधा भाग चर्किएको छ। चुम्लिङटारमा पनि ढुङ्गासहितको पहिरो खसेको छ।
धारापानीका दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको छ। सोही क्षेत्रमा कल्भर्ट खुलाउने काम भइरहेको छ भने घोप्टेभीर र सिमलधारामा ठूला ढुङ्गा तथा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ।
इन्जिनियर मिश्रका अनुसार सबै स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ। थप ठूलो पहिरो नखसेमा साँझसम्म सडक खुलाएर सवारीसाधन सञ्चालनमा ल्याउने तयारी छ। पहिरो पन्छाउन सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरणसमेत परिचालन गरिएको उहाँले जानकारी दिनुभयो।
