विदेशको कमाइले स्वदेशमा उद्यमी

मोरङ, ७ फागुन । मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिनुहुन्छ । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उहाँ च्याउ उत्पादनमा लाग्नुभएको छ ।

यो व्यवसायबाट उहाँले यस वर्ष मात्रै करिब रू ५० लाख आम्दानीको लक्ष्य लिनुभएको छ । तीन वर्ष मलेसिया बस्दा कमाएको करिब रू एक लाख ५० हजार लगानी गरी उहाँले मेहनती मसरुम कृषि फर्म सुरु गर्नुभएको थियो ।

हाल कम्पनीमा रू एक करोडभन्दा बढी लगानी भइसकेको उहाँको भनाइ छ । तीन कठ्ठा क्षेत्रफलमा तीन वटा प्लाष्टिकका टनेलमार्फत सुरु गरिएको च्याउखेती हाल चार वटा पक्कि घर बनिसकेका छन् भने थप तीन वटा बन्ने क्रममा छन् ।

च्याउ उत्पादन हुने पक्कि घर ५० फिट लम्बाई र २२ फिट चौडाइका छन् । एउटा घरमा एक हजार दुई सय ६५ वटा च्याउका पोका रहने र ती पोकामा राम्रो भएमा दुई महिनासम्म निरन्तर उत्पादन हुने बोगटीको भनाइ छ ।

वार्षिक तीन लट उत्पादन हुने र प्रत्येक लटमा करिव १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी छ । गर्मीभन्दा भन्दा जाडो मौसममा उत्पादन राम्रो हुने भन्दै उहाँले हाल दैनिक नौ सय किलोसम्म उत्पादन भएको जानकारी दिनुभयो ।

उत्पादित च्याउ बिक्रीमा कुनै समस्या नभएको उहाँको भनाइ छ । हाल थोकमा रू एक सय ५० का दरले च्याउ बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । उत्पादन गरिएको च्याउ हरेक विहान ४ बजेसम्म इटहरी पुर्याई सक्नुपर्ने र ७ बजे सम्ममा बिराटनगर र धरानसम्म पुर्याई सक्नुपर्ने हुन्छ ।

दैनिक रुपमा अटो रिक्साबाट पनि स्थानीय क्षेत्रमा पुर्याउन समस्या हुन थालेपछि अब आफै पिकअप भ्यान खरिद गर्ने योजना बनाउनुभएको छ । उहाँले हाल फर्ममा स्थानीय पाँच जनालाई दैनिक ज्यालादारिमा रोजगारी दिइरहनुभएको छ भने आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने योजना बनाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *