बालुवाटारमा अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच वार्ता
काठमाडौं, १० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपतिको उम्मेदवारमा नेकपा एमाले र माओवादी केन्द्रसंगकाे सहमति कार्यान्वयन नहुँदा सत्ता साझेदारी नै संकटमा परेको छ ।
सहमति अनुसार एमालेले माओवादी केन्द्रलाइ प्रधानमन्त्री दिएर राष्ट्रपति आफूले लिने गरि सरकार बनाएका थिए । पछिल्लाे चरणमा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् ।
निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।