वायु प्रदूषण बढ्ने जोखिमप्रति सचेत रहन कामपाको आग्रह, प्लास्टिक नबाल्न अनुरोध
काठमाडौँ, १९ कात्तिक । जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुने जोखिम बढ्न सक्ने भन्दै काठमाडौँ महानगरपालिकाले प्लास्टिकजन्य फोहोर नबाल्न आग्रह गरेको छ ।
कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार सवारीसाधनको धुवाँ, सडक तथा निर्माण कार्यबाट निस्कने धुलो, उद्योगको धुवाँ र खुला रूपमा प्लास्टिकजन्य फोहोर जलाउनु वायु प्रदूषणका प्रमुख कारण हुन् ।
वायु प्रदूषणबाट विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दम तथा खोकीका बिरामी र दीर्घरोगी बढी जोखिममा पर्ने भएकाले मापदण्डविपरीतका गतिविधि नगर्न उहाँले सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।
महानगरले सवारीसाधन नियमित मर्मत गरी प्रदूषण नियन्त्रण मापदण्डअनुसार सञ्चालन गर्न, निर्माण सामग्री सडक तथा फुटपाथमा नराख्न र उद्योग, कलकारखाना तथा अस्पतालले प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।
त्यस्तै, उद्योगमा वायु प्रदूषण न्यूनीकरण गर्ने उपकरण प्रयोग गर्न पनि महानगरले आग्रह गरेको छ ।
