मेचीनगरमा शङ्खधर साख्वाको पहिलो शालिक निर्माण

झापा, २४ कात्तिक । राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक झापाको मेचीनगर नगरपालिका–१०, धुलाबारीमा निर्माण गरिएको छ।

भक्तपुरको प्राचीन कला शैलीमा निर्माण गरिएको शालिकमा २० लाख रुपैयाँ खर्च भएको निर्माण समितिका अध्यक्ष दिनेश शाक्यले जानकारी दिनुभयो। उहाँका अनुसार मेचीनगरमा शङ्खधर साख्वाको यो पहिलो शालिक हो।

शालिक निर्माणका लागि मेचीनगर नगरपालिकाले पाँच लाख रुपैयाँ उपलब्ध गराएको थियो भने बाँकी रकम जनसहयोगबाट जुटाइएको अध्यक्ष शाक्यले बताउनुभयो।

शालिक राखिएको स्थललाई समेत भक्तपुरको परम्परागत कला शैलीमा सजाइएको छ। निर्माण समितिका सचिव मिलनराज प्रसाईका अनुसार शालिक एउटै ढुङ्गामा कुँदेर तयार गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *