काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै, आइतबारसम्म अस्वस्थकर रहने पूर्वानुमान

काठमाडौं, २० कात्तिक । सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। उपत्यकाका विभिन्न स्थानमा वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको छ भने आगामी आइतबारसम्म प्रदूषणको अवस्था यस्तै रहने पूर्वानुमान गरिएको छ।

स्विट्जरल्यान्डस्थित वायु गुणस्तरसम्बन्धी तथ्यांक संकलन गर्ने संस्था आईक्यूएयरका अनुसार शुक्रबार बिहान काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) १११ मापन भएको छ। बिहीबार मध्यबानेश्वर क्षेत्रमा एक्यूआई १५३ सम्म पुगेको थियो। शुक्रबार बिहान सवा ९ बजेसम्म उक्त क्षेत्रमा एक्यूआई १२७ रहेको छ।

काठमाडौं महानगरपालिकाको एयर क्वालिटी मनिटरिङ ड्यासबोर्डअनुसार स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली, क्षेत्रपाटी, जडिबुटी, असन, कमलादी, शान्तिनगर, चाबहिल, लैनचौर र हाँडीगाउँलगायत क्षेत्रमा वायुको गुणस्तर अस्वस्थकर अवस्थामा छ। महानगरपालिकाले वायु प्रदूषण बढाउने गतिविधि नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

सुक्खा मौसममा वर्षा कम हुने र हावामा धुलो तथा प्रदूषित कणको मात्रा बढ्ने भएकाले उपत्यकाको वायु गुणस्तर खस्किने गर्छ। विशेषगरी हावामा रहेको पीएम २.५ का सूक्ष्म कण स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छन्।

वायु गुणस्तर सूचकांकअनुसार पीएम २.५ को मात्रा १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहका लागि अस्वस्थकर मानिन्छ। यस्तो अवस्थामा श्वासप्रश्वासका बिरामी, वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगी बढी जोखिममा पर्छन्। यसको मात्रा १५१ देखि २०० सम्म पुगेमा भने सबैका लागि अस्वस्थकर मानिन्छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार हावामा पीएम २.५ को वार्षिक औसत मात्रा प्रतिघनमिटर पाँच माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन। त्यस्तै, २४ घण्टाको औसत मात्रा प्रतिघनमिटर १५ माइक्रोग्रामभन्दा बढी हुन नहुने संगठनको मापदण्ड छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *