बाढी र पहिराेले काभ्रे, खोटाङ र ललितपुरलगाएतका सडक अवरुद्ध
काठमाडौँ, १५ कात्तिक । लगातारको वर्षाका कारण लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा र पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरलगाएतका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् ।
काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हाे ।
त्यस्तै खाेटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडास्थित मध्यपहाडी लोकमार्गमा वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खस्दा करिब १५ मिटर सडक अवरुद्ध भएको छ भने ललितपुर महानगरपालिका–२ सुन्दरीघाटमा बागमती खोला करिडोरको सडकमा वर्षाका कारण जलसतह बढेर आवागमन अवरुद्ध भएको छ ।
बागमती गाउँपालिका–३ पाङ्दुर र टार्कुचेस्थित कान्ति लोकपथमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएकाे छ ।
