होली पर्वका लागि चीर बनाउन शुरु

काठमाडौं, १० फागुण । आउँदो होली पर्वका लागि हनुमानढोका दरवारमा चीर बनाउने काम शुरु भएको छ ।
आउँदो फागुन १५ गते बसन्तपुरमा चीर ठड्याइने कार्यक्रम रहेको छ । बसन्तपुरमा चीर ठड्याएपछि यस वर्षका लागि होली पर्व शुरु भएको मानिन्छ ।
यसको लागि हनुमानढोकास्थित गद्दी बैठक भित्र चीर बनाउने कार्य भइरहेको हो । बसन्तपुरमा उभ्याइने चीरमा विभिन्न रंगीचंगी कपडाहरू उनेर राखिएको हुन्छ । अहिले गद्दी बैठकमा त्यस्ता रंगीचंगी कपडाहरू उन्ने काम भइरहेको छ ।
होली पर्वका अवसरमा बसन्तपुरमा चीर ठड्याउने र ढाल्ने समयको साइत निकालिएको हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सो साइत निकाल्ने कार्य गर्दछ । समितिका अनुसार आउँदो फागुन १५ गते बिहान ७ः४५ बजेको साइतमा चीर ठड्याइने छ ।
बसन्तपुरको बाहिर ठूलो चीर उठाए पनि हनुमानढोका दरवारभित्रका विभिन्न चोकहरूमा पनि सोही दिन सानो सानो आकारका अर्को चार वटा चीर पनि उठाउने गरिन्छ ।
यसरी उठाइएको चीर एक सातासम्म राखिनेछ । त्यसपछि होली पूर्णिमाका दिन त्यसलाई ढालिन्छ । पञ्चाङ्ग निर्णायक समितिले फागुन २२ गते राति २९ः४५ बजे (बिहानीपख ५ः४५ बजे) चीर ढाल्ने साइत निकालेको छ ।
त्यसरी ढालिएको चीर टुँडिखेलमा लगेर दहन गरिन्छ । यसलाई चीरदाह भनिन्छ । चीरदाह गर्दा निस्केको कोइला घरमा लगेर राख्नु राम्रो मानिने भएकोले खास गरी मारवाडी समुदायका मानिसहरूले जल्दै गरेको कोइला घरमा लाने गर्छन् ।
उता सोही दिन राति किलागल टोलका स्थानीयवासीले एक मुरी चामलको भात पकाई टुँडिखेलमा गुरुमापालाई ख्वाउने परम्परा पनि रहेको छ ।
होली पूर्णिमाकै दिन राति किलागल टोलका महर्जन समुदायले एक मुरी चामलको भात र एउटा राँगाको मासु पकाएर किलागल टोलदेखि बोकेर टुँडिखेलको बीचमा पु¥याई गुरुमापालाई ख्वाउने गरिन्छ । गुरुमापालाई ख्वाइने सो भात प्रसादको रुपमा ग्रहण गरेमा पेटसम्बन्धी रोग निको हुने विश्वासका कारण धेरै मानिसहरू उक्त प्रसाद ग्रहणका लागि राति नै टुँडिखेल पुगेका हुन्छ ।
किंवदन्ती अनुसार शहरमा बच्चाहरू खाएर दुःख दिने गुरुमापा राक्षसलाई हरेक वर्ष होली पूर्णिमाका दिन एक मुरी चामलको भात र एउटा राँगाको मासु ख्वाउने शर्तमा शहरभन्दा बाहिर टुँडिखेलमा राखिएको भन्ने विश्वास गरिन्छ ।