कलाकार जयनन्द लामाको सालिक सिन्धुपाल्चोकको बाह्रबिसेमा स्थापना

काठमाडौं, १४ फागुन । गायक तथा कलाकार जयनन्द लामाको सालिक सिन्धुपाल्चोकको बाह्रबिसेमा स्थापना गरिएकाे छ ।

जयनन्द लामा स्मृति कोषले आठ लाख रुपैयाँमा १२ फिट अग्लो सालिक निर्माण गरेको हो। कोषका सदस्य प्रेम दोङले सालिक वरपर संग्रहालय र कम्पाउन्ड बनाउने तयारीसहित २५ लाख बराबरको योजना बनाइरहेको बताए।

नगरपालिकाको ४ लाख, नुवाकोटको ककनी गाउँपालिकाको १ लाख र स्थानीय गाउँले मिलेर बाँकी रकम जुटाएका थिए।

लामा अभिनित अन्तिम फिल्म ‘ए साथी सुन’ चैत १० गते प्रदर्शनको तयारीमा छ। नृत्यकारबाट कलाकारिता सुरु गरेका उनले ३० को दशकमा ‘मनको बाँध’बाट फिल्ममा अभिनय यात्रा थालेका थिए। पहिलो क्यासेट एल्बम निकाल्ने गायकसमेत जयनन्द नै थिए। उनले दुई सय बढी गीत गाएका छन्।

गत वर्षकाे फागुन ११ गते भक्तपुरको मध्यपुरथिमि–१ स्थित आफ्नै घरकाे गेटअघि उनी मृत भेटिएका थिए।

लामाका ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’, ‘मुलाको चाना’ जस्ता थुप्रै लोकगीत अहिले पनि चर्चित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *