दसैँले गाउँबस्तीमा बढायो रौनक

भोजपुर, २ कात्तिक । बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ। रोजगारी, अध्ययन र विभिन्न कामले घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ। घटस्थापनासँगै सुरु भएको दसैँको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलोको वातावरण बनाएको छ।

भोजपुरको ग्रामीण जीवनमा दसैँ पारिवारिक मिलन र सांस्कृतिक परम्परा जोगाउने महत्त्वपूर्ण अवसर हो। घर लिपपोत गर्ने, बाटोघाटो सफा गर्ने, पिङ हाल्ने, मठमन्दिरमा पूजाआजा गर्ने र सामूहिक रूपमा रमाइलो गर्ने चलनले पर्वको मौलिकता झल्काउँछ। यस अवसरमा आयोजना हुने खेलकुदलगायत प्रतियोगिताले पनि गाउँघरमा उत्साह थपेको छ।

वर्षभरि कामको व्यस्तताले टाढिएका परिवारका सदस्य दसैँमा एकै ठाउँमा भेला भई सुखदुःख साटासाट गर्ने, मीठोमसिनो खाने र मान्यजनबाट टीका–जमरा ग्रहण गर्ने तयारीमा छन्। विशेषगरी रोजगारीका लागि जिल्लाबाहिर र अध्ययनका लागि सहरमा रहेका युवा–युवती घर फर्किएपछि परिवारसँग समय बिताउने अवसर पाएका छन्।

बजारमा चहलपहल

दसैँका लागि आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल भोजपुरका मुख्य बजारमा बढेको छ। खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, फलफूल र पूजासामग्रीका पसलमा ग्राहकको आवतजावत बढेको छ। सदरमुकाम भोजपुर बजार, दिङ्ला, घोडेटार र प्याउलीलगायतका बजारमा चाडपर्वकेन्द्रित व्यापारिक गतिविधि बढेको छ।

दसैँले स्थानीय कृषि उपजको बजारीकरणमा समेत सघाउ पुर्‍याएको छ। गाउँघरमा उत्पादित खसीबोका, कुखुरा, तरकारी र फलफूलको माग बढ्दा किसानले उत्पादन बिक्री गर्ने अवसर पाउने टेम्केमैयुङ गाउँपालिका–५ का स्थानीय किसान देवबहादुर विष्टले बताए। चाडपर्वमा स्थानीय उत्पादनको माग बढ्दा किसानको आम्दानीमा सहयोग पुग्ने उनको भनाइ छ।

परम्परा र परिवर्तन

दसैँमा जिल्लाका विभिन्न शक्तिपीठ र धार्मिकस्थलमा पूजाआजा गर्ने परम्परा छ। पछिल्लो समय रोजगारी र अध्ययनका लागि युवा पुस्ता गाउँबाहिर जाने क्रम बढेसँगै परम्परागत रूपमा चाडपर्व मनाउने शैलीमा परिवर्तन आउन थालेको छ।

आधुनिक जीवनशैलीको प्रभावले कतिपय मौलिक चलन कमजोर हुँदै गए पनि दसैँले पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृति, संस्कार र परम्परा हस्तान्तरण गर्ने अवसर दिँदै आएको छ। परिवारसँगको भेटघाट, स्थानीय परम्पराको निरन्तरता र सामाजिक सद्भावसँग जोडिएको दसैँले भोजपुरका गाउँबस्तीमा आत्मीयता र उत्साह थपेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *