टुँडिखेलमा गुरुमापालाई एक मुरी चामलको भातः बार घेरेर संस्कृतिमा अवरोध
काठमाडौं, २३ फागुन । होली पूर्णिमाको मध्य रात । दिनभरि फागु खेलेका मानिसहरू त सबैजना मस्त निद्रामै पुगे होलान् । तर काठमाडौंको किलागल टोलका स्थानीयवासी भने मध्य राति नै गुरुमापालाई चौसारी व्यञ्जन सहित भात खुवाउन टुँडिखेलमा जम्मा हुँदै थिए ।
वर्षेनी होली पूर्णिमाको राति किलागः त्वाः खलःको आयोजनामा एक मुरी चामलको भात र एउटा सिंगो राँगोको मासु पकाएर टुँडिखेलमा गुरुमापालाई खुवाउने गरिन्छ । किलागल टोलमा तयार गरिने यी परिकारहरू किलागलदेखि टुँडिखेलसम्म एक जनाले मात्रै बोकेर लानुपर्ने चलन छ ।
हिजो स्थानीय गुठियार राप महर्जनले उक्त परिकारहरू बोक्नुभएको थियो । किलागल टोलदेखि टुँडिखेलसम्म यी खानेकुराहरू बोकेर लाँदा बीच बाटोमा कहीं पनि बिसाउनु हुँदैन । किलागल टोलमा जसले यो भारी बोक्छ, उसले कमसेकम न्यूरोड गेट सँगैको गणेश मन्दिरसम्म एक्लै बोकेर लानु पर्दछ । पालो फेर्न पनि मिल्दैन । त्यसैले किलागल टोलमा यो भारी बोकाउँदा पनि बोक्न सक्ने मान्छे हो होइन परीक्षण गरेर मात्रै बोक्न दिने गरिन्छ ।
त्यो परीक्षण गर्ने पनि आफ्नै तरिका छ । बोक्छु भनेर आउने गुठियारलाई दुई तिर नोलमा झुण्ड्याएर राखिएको भात र मासुको भारी बोकाएर पहिले सात पाइला अघि र सात पाइला पछि हिँडाइन्छ । यदि उनी ढलपल नगरी सिधा हिँड्न सक्यो भने उसैलाई टुँडिखेलसम्म बोकाइन्छ । ढलपल गर्यो भने उसको ठाउँमा अरुलाई मौका दिइन्छ ।
राप महर्जनले त्यसरी बोकेर लगेका परिकारहरू न्यूरोड गेट अगाडि रहेको गणेशको मन्दिरमा पुगेपछि एक छिन बिसाइएको थियो । त्यसपछि त्यहाँदेखि बाटोभरि अलि अलि गर्दै भात छरेर टुँडिखेलभित्र प्रवेश गरे ।
टुँडिखेलभित्र ठूलो टपरीमा भात र मासुका परिकारहरू राखेर सांकेतिक रुपमा गुरुमापालाई चढाए । त्यसपछि गुठियार एवं अन्य श्रद्धालुहरूले सोही भात प्रसादका रुपमा ग्रहण गरेका थिए ।
परम्परामा अवरोध
हिजो गुरुमापालाई खुवाउने भात लिएर टुँडिखेल प्रवेश गर्दा टुँडिखेलभित्रै व्यापारिक मेला आयोजना गर्न राखिएको बारले भने भात खुवाउने कार्यलाई अवरोध पुर्याएको थियो । गुरुमापालाई भात चढाउनु पर्ने ठाउँसम्म जानै नमिल्ने गरी बार घेरिएकोले वरै बसेर भात चढाउनु परेको थियो ।
त्यहाँ व्यापारिक एक्स्पो आयोजना गर्न बार घेरिएको थियो । यसले गर्दा भात चढाउन आएका गुठियारहरू आक्रोशित भई बारहरू भत्काइदिएका थिए ।
किलागः त्वाः खलःका सदस्य मचाराजा महर्जनले टुँडिखेललाई व्यापारिक प्रयोजनमा प्रयोग गर्ने कार्यले गर्दा नगरको सांस्कृतिक परम्परामा समेत अवरोध पुगेको बताउनुभएको छ । यसका विरुद्ध आफूहरूले सम्बन्धित निकायमा उजुरी हाल्ने तयारी गरिरहेको पनि उहाँले बताउनुभयो ।
‘टुँडिखेल भनेको सांस्कृतिक कार्य गर्ने थलो हो, व्यापार गर्ने ठाउँ होइन,’ उहाँले भन्नुभयो ।
स्मरणीय छ, गुरुमापालाई भात खुवाउने सांस्कृतिक कार्य समेत प्रभावित हुने गरी काठमाडौं महानगरपालिकाले टुँडिखेलमा अण्डर ग्राउण्ड पार्किङ बनाउने योजना पनि अघि सारेको छ । महानगरको उक्त योजनालाई काठमाडौंवासीले कडा विरोध गर्दै आइरहेको छ ।
गुरुमापा को हुन् ?
काठमाडौं मनपा २४ वडास्थित इतुम्बहाल निवासी केशचन्द्र नामक एक ठूला महाजनसँग गुरुमापाको कथा जोडिएको छ । किंवदन्ती अनुसार केशचन्द्रलाई प्राप्त भएको सुन गुरुमापा राक्षसले बोकेर घरसम्म पुर्याइदिएका थिए । त्यसपछि केशचन्द्रले गुरुमापालाई आफ्नै घरमा बस्ने व्यवस्था गरे ।
तर गुरुमापाले टोलका बच्चा खान थालेपछि उनलाई वर्षको एक दिन एक मुरी चामलको भात र एउटा राँगोको मासु खुवाउने वाचा सहित टुँडिखेलमा बस्ने व्यवस्था मिलाइएको थियो । सोही किंवदन्ती अनुसार अहिले हरेक वर्षको होली पूर्णिमाका दिन किलागल टोलका स्थानीय ज्यापू समुदायले टुँडिखेलमा मासु र भात सहित चौरासी व्यञ्जन खुवाउने परम्परा चल्दै आएको हो ।