एघार नेताको खोजीनिती, सामाजिक सञ्जालमा कुन नेता कति सक्रिय ?

दिपेन्द्र श्रेष्ठ

काठमाडौँ, २८ फागुन । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले सबैभन्दा छिटो, छरितो सूचना प्रवाह गर्ने माध्यम नै सामाजिक सञ्जाल बन्न थालेको छ । आफ्ना धारणाहरु सार्वजनिक गर्ने, सूचना दिने र आफूले गरेको गतिविधिको चर्चा गर्ने माध्यम पनि सामाजिक सञ्जाल नै बन्न थालेको छ ।

कतिपय सन्दर्भमा भने सामाजिक सञ्जालको उपयोगको सट्टा दुरुपयोग पनि हुने गरेका छन् । यद्यपि, पछिल्लो समय नेता, कलाकार, पत्रकार, उद्योगी–व्यवसायी सबै–सबैजना सामाजिक सञ्जालको प्रयोगबाट अछूत रहन सकेका छैनन् । गाउँदेखि सहरसम्म, वृद्धदेखि बालकसम्मलाई प्रविधिको प्रयोगले निकै सक्रिय बनाएको छ ।

चिठ्ठीपत्रको माध्ययमबाट सूचना आदान–प्रदान गर्ने जमानालाई अहिले प्रविधिले नराम्ररी विस्थापित गरिदिएको छ । कुनै बेला पत्रमित्रका माध्यमबाट पनि आफ्ना भावनाहरु आदान–प्रदान गर्ने गज्जबको जमाना थियो । अहिले त्यसलाई पनि प्रविधिले विस्थापित गरिदिएको छ भने हुलाक सेवा अहिले नरहे सरह नै भइसकेको छ । रेडियो, टेलिभिजन र पत्रपत्रिकाबाट सूचना प्राप्त गर्ने माध्ययमलाई पनि अहिले सामाजिक सञ्जालको प्रयोगले खुम्च्याइ दिएको छ ।

अझ गज्जब त के भने ठूला राजनीतिक दलहरु र संघ–संगठनले गर्ने सम्मेलन, अधिवेशन, महाधिवेशनहरुका बेला भित्ताहरु रंगीन बनाउने सम्मेलनस्थलहरु पर्चा, पम्प्लेटले विकृत बनाउने चलनलाई पनि अहिले प्रविधिको प्रयोगले विस्थापित गरिदिएको छ ।

अझ गज्जब त के भने ठूला राजनीतिक दलहरु र संघ–संगठनले गर्ने सम्मेलन, अधिवेशन, महाधिवेशनहरुका बेला भित्ताहरु रंगीन बनाउने सम्मेलनस्थलहरु पर्चा, पम्प्लेटले विकृत बनाउने चलनलाई पनि अहिले प्रविधिको प्रयोगले विस्थापित गरिदिएको छ

नेताहरुलाई आफ्नो केही भनाइ राख्नुपर्ने भयो, विचार व्यक्त गर्नुपर्ने भयो भने टेलिभिजन वा सञ्चारगृहमा पुग्नुपर्ने, अन्तर्वार्ता दिनुपर्ने जस्ता परम्परालाई पनि प्रविधिको प्रयोगले धेरै हदसम्म सहज बनाइ दिएको छ । प्रविधिको प्रयोगबाट पूर्ण बेखबर रहेका नेताहरु समेत पछिल्लो समय प्रविधिसँग खेल्न थालेका छन् । आफुले गरेका गतिविधि, आफ्ना धारणा छिटो–छरितो रुपमा प्रस्तुत गर्ने माध्यम पनि नेताहरुले सामाजिक सञ्जाललाई नै बनाउन थालेका छन् ।

पूर्वप्रधानमन्त्री र ठूला राजनीतिक दलका शीर्ष नेताहरु सामाजिक सञ्जालमा कत्तिको सक्रिय छन् त ? मैत्री न्युजले उहाँहरुका आधिकारिक पेजको आधारमा सामाजिक सञ्जालमा उहाँहरुको सक्रियता, उहाँहरुले सार्वजनिक गर्ने विचार लगायतका सन्दर्भ यहाँ उल्लेख गर्ने जमर्को गरेको छ ।

राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेल

फागुन २४ गते राष्ट्रपति पदमा निर्वाचित हुनुभएका रामचन्द्र पौडेलले ३ लाख ११ हजार फलोअर्स रहेको पेज चलाउँदै आउनुभएको छ । उहाँले ‘प्रजातान्त्रिक समाजवादले मात्र लोककल्याणकारी समाजको निर्माण गर्न सक्छ’ भन्ने नारासहितको प्रोफायल पिक्चर राख्नुभएको छ ।

उहाँले ‘गाउँमुखी अर्थनीति, जनमुखी राजनीति र श्रमको सम्मान गर्ने संस्कृति समाजवादका लागि आवश्यक छ’ भन्ने नारासहितको प्रोफायल कभरमा राख्नुभएको छ । उहाँ सामाजिक सञ्जालमा निकै सक्रिय देखिनुहुन्छ । उहाँले आफ्नो पेजमार्फत राष्ट्रपति निर्वाचित भएपछि कीर्तिपुरको पुष्पलाल स्मृति पुगेको, कृष्णप्रसाद भट्टराई आश्रम बाडेगाउँ पुगेको, स्वयम्भू महाचैत्यको दर्शन गरेको, वीपी संग्रहालय सुन्दरीजल पुगेको, पशुपतिनाथको दर्शन गरेको तस्बिरहरु सार्वजनिक गर्नुभएको छ । उहाँले राष्ट्रपति निर्वाचित भए लगत्तै हार्दिक आभार भनेर पनि सार्वजनिक गर्नुभएको छ ।

उहाँले नारी दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । यसरी केही दिनको अपडेटलाई मात्रै आधार मान्ने हो भने पनि राष्ट्रपति निर्वाचित पौडेल सामाजिक सञ्जालमा निकै सक्रिय देखिनुहुन्छ ।

प्रधानमन्त्री पुष्पकमलद दाहाल प्रचण्ड

वर्तमान प्रधानमन्त्री प्रचण्डले ५ लाख १२ हजार फलोअर्स रहेको पेज चलाउँदै आउनुभएको छ । उहाँले प्रोफायल कभरमा आफ्नो तस्बिरसहित ‘प्रतिगमनकारीले माओवादीलाई निशाना बनाएका छन्, जनयुद्धमा आक्रमणको तयारी गरे जस्तै यो चुनाव पनि पुरै तयारीका साथ होमिनु जरुरी छ’ राख्नुभएको छ । उहाँले पछिल्लो अपडेट सिन्धुलीमा भएको बस दुर्घटनासँग केन्द्रित रहेको छ ।

‘सिन्धुलीमा बस दुर्घटना भई ५ जनाको मृत्यु र दर्जनौं यात्रु घाइते भएको खबरले दुःखी तुल्याएको छ । दुर्घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासहित उद्धार कार्य प्रभावकारी बनाउन सम्वद्ध सबैमा निर्देशित गर्दछु ।’ उहाँले आफ्नो पेजमा केही समाचारहरुको लिङ्कसमेत सेयर गर्ने गरेको देखिन्छ भने कार्यक्रममा गरेको सम्वोधन र उच्चस्तरीय भेटघाटका विषयलाई पनि उहाँले सार्वजनिक गर्ने गर्नुभएको छ । उहाँको पेज नियमित अपडेट भएको देखिन्छ । तर, कभर पिक्चर भने उहाँले गत मंसिर ४ को निर्वाचनसँग केन्द्रित भएको विषयसहितको राखिराख्नु भएको छ । त्यो परिवर्तन गर्ने कुरामा भने ध्यान गएको देखिदैँन ।

शेरबहादुर देउवा

२ लाख ५७ हजार फलोअर्स रहेको पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कभर पिक्चरमा प्रधानमन्त्री पदको सपथ खाँदै गरेको तस्बिर राख्नुभएको छ । उहाँले महाशिवरात्री, प्रजातन्त्र दिवस, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । त्यसपछि फागु पूर्णिमा (होली) को शुभकामना व्यक्त गर्नुभएको छ । त्यसपछि ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पनि शुभकामना व्यक्त गर्नुभएको छ भने रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकोमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा राजनीतिक विषयमाथिको टिकाटिप्णी गरेको खासै देखिँदैन ।

केपी शर्मा ओली

नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रोफायल पिक्चरमा मिशन ग्रासरुट अभियानको तस्बिर राख्नु भएको छ । अन्य शीर्ष नेताहरुको तुलनामा ओली सामाजिक सञ्जालमा बढी सक्रिय देखिनुहुन्छ । राजनीतिक टिकाटिप्पणीसँगै उहाँले सामाजिक सञ्जाललाई पार्टीले गर्ने गतिविधिसँगै अन्य विषयवस्तुलाई पनि प्राथमिकताका साथ सार्वजनिक गर्ने गरेको देखिन्छ । उहाँले पछिल्लो अपडेट राजधानीकै एक विद्यालयको अभिभावक दिवसका अवसरमा बालबालिकासँग रमाउँदै गरेका तस्बिर राखेर लेख्नुभएको छ– ‘बालबालिकाहरुका आँखामा म देशको भविष्य देख्छु । काठमाडौंमा आज एक विद्यालयको कार्यक्रममा सहभागी हुँदा मैले उनीहरुसँग आफ्नो केही समय विताउन पाएँ, धेरै खुशी लागेको छ ।’

त्यसो त शनिबार उहाँले पार्टी कार्यालयबाट निवास फर्किने सिलसिलामा ठेलागाडामा पोलेको मकै खाँदै गरेको तस्बिरसहित ‘ पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो । नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।’ भनेर सार्वजनिक गर्नुभएको थियो । त्यसले धेरै चर्चा पाएको थियो । उहाँले रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकोमा दिएको बधाईलाई पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको देखिन्छ ।

उहाँले तीन अघि मात्रै अन्तर्राष्ट्रिय उडान भर्न सफल महिला पाइलटलाई बधाई दिँदै लेख्नुभएको छ । ‘अघि बढ्दैछन् नेपाली महिला ! आज अन्तर्राष्ट्रिय महिला दिवस पनि हो । यसै दिन नेपालको राष्ट्रिय ध्वजावाहक जहाजको सफलतापूर्वक अन्तर्राष्ट्रिय उडान भर्न सफल पाइलट भावना पन्त र को– पाइलट सिर्जना रावत लगायत उहाँहरूको टिमलाई हार्दिक बधाई !’

माधवकुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १ लाख ९२ हजार फलोअर्स रहेको पेज चलाउँदै आउनुभएको छ । उहाँले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा गरिएको प्रदर्शनको तस्बिरलाई प्रोफायल कभर बनाउनु भएको छ । उहाँले आफ्नो पेजमा पार्टीका गतिविधि, सूचना, उच्चस्तरीय भेटघाट, आफ्नो बारेमा छापिएका, प्रकाशन–प्रशारण भएका समाचार सेयर गर्ने गर्नुभएको छ । उहाँ अहिले आफ्नो भाइको निधनका कारण शोकमा हुनुहुन्छ । यद्यपि, उहाँ राष्ट्रपति निर्वाचनमा सहभागी हुनुभएको थियो । उहाँको पेज भाइको निधनपछि अपडेट छैन ।

झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले १ लाख ४८ हजार फलोअर्स रहेको पेज चलाउँदै आउनुभएको छ । उहाँको पेजको प्रोफायल पिक्चर पनि प्रचण्डकै जस्तो मंसिर ४ को निर्वाचनका सन्दर्भमा राखेको देखिन्छ । उहाँले ‘कलम चिन्हमा छाप लगाऔं, देशको अग्रगति र प्रगतिको बाटो निर्माण गरौँ । चुनाव प्रचार कमिटी इलाम क्षेत्र नम्बर १, नेकपा (एकीकृत समाजवादी)’ उल्लेख गरेको प्रोफायल पिक्चर राख्नुभएको छ ।

बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री समेत रहनु भएका बाबुराम भट्टराई सामाजिक सञ्जालमा निकै सक्रिय नेता मध्ये पर्नुहुन्छ । उहाँ फेसबुक पेजसँगै ट्वीटरमा पनि त्यत्तिकै सक्रिय हुनुहुन्छ । १५ लाख फलोअर्स रहेको पेज चलाउँदै आउनुभएका उहाँले पछिल्लो अपडेट शिल्पी थियटरमा नाटक ‘विमोक्ष’ हेरेको विषयलाई सार्वजनिक गर्नुभएको छ । ‘प्रेम र यौनको शास्वत प्रश्नमा वर्ण, लिंग, वर्ग विभेदको सामाजिक प्रश्नले ल्याउने उल्झनमा आधारित यथार्थवादी नाटक ‘विमोक्ष’ निकै उत्कृष्ट लाग्यो । गम्भीर विषयवस्तु र प्रस्तुति रूचाउनेहरूका लागि यो नाटक हेर्नैपर्नेछ है !

घिमिरे युवराजको कथा, प्रवीण खतिवडाको निर्देशन तथा घिमिरे युवराज, सगुना शाह, पवित्रा खड्का र सागर खाती कामीको अभिनय रहेको नाटक शिल्पी थिएटरमा नियमित प्रस्तुत भैरहेछ !’

उहाँ राजनीतिक टिकाटिप्पणी पनि सामाजिक सञ्जालमार्फत नै गर्ने गर्नुहुन्छ । पारिवारिक विषयवस्तुदेखि घुमफिरका विषयलाई समेत भट्टराईले सामाजिक सञ्जालमा मार्फत जानकारी गराउने गर्नुभएको देखिन्छ । कहिले नातीसँग खेल्दै गरेका, कहिले विभिन्न ठाउँ घुमेका, अवलोकन गरेका तस्बिर र घटनाहरुलाई पनि उहाँले सार्वजनिक गर्ने माध्यम सामाजिक सञ्जाल नै बनाउँदै आउनुभएको छ । उहाँले प्रोफाइल कभरमा हलो जोत्दै गरेको तस्बिरसहित नेपाल समाजवादी पार्टीको लोगो राख्नुभएको छ ।

शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले १ लाख ४० हजार बढी फलोअर्स भएको पेज चलाउँदै आउनु भएको छ । जनताको बहुदलीय जनवादको राम्रो व्याख्या गर्न सक्ने नेता पोखरेल एमाले भित्र बौद्धिक छवी भएका नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँ सामाजिक सञ्जालमा निकै सक्रिय देखिनुहुन्छ । उहाँले चोटिला राजनीतिक टिप्पणीहरु पनि सामाजिक सञ्जालमार्फत नै गर्ने गरेको देखिन्छ । पार्टीका, जनवर्गीय संगठनका गतिविधिलाई सार्वजनिक गर्न पनि उहाँले सामाजिक सञ्जालको सदूपयोग गर्नुभएको देखिन्छ । उहाँका अभिव्यक्ति पार्टीको अभिव्यक्ति हुने भएकाले पनि उहाँका अधिकांश टिप्पणीहरु समाचार बन्ने गर्छन् ।

गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाँच लाख ९ हजार फलोअर्स रहेको पेज चलाउँदै आउनु भएको छ । उहाँ पनि सामाजिक सञ्जालमा सक्रिय नेताका रुपमा देखिनुहन्छ । तर, उहाँले पनि प्रचण्ड र खनालकै जस्तो मंसिर ४ को निर्वाचनलाई केन्द्रित गरेको प्रोफाइल कभर परिवर्तन गर्ने कुरामा ध्यान दिएको देखिँदैन । उहाँले सामाजिक सञ्जालमा गर्ने टिप्पणी निकै लामा हुन्छन् । उहाँले अन्तिम अपडेट पौडेल राष्ट्रपति निर्वाचित भएपछि उहाँलाई बधाई दिन गर्नुभएको छ ।

गोकर्ण विष्ट

पूर्वमन्त्री समेत रहनु भएका नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले १ लाख ४० हजार फलोअर्स रहेको पेज चलाउँदै आउनु भएको छ । उहाँले पछिल्लो अपडेटमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएकोमा बधाई दिँदै सफलताको शुभकामना दिनुभएको छ । उहाँले पौडेल राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिनुभएको छ भने नारी दिवस, फागु पूर्णिमा लगायतका अवसर र पर्वहरुमा शुभकामना दिनुभएको छ । उहाँले आफ्नो निर्वाचन क्षेत्रका मतदाता र नागरिकले गरेका गतिविधिलाई पनि प्राथमिकताका साथ पोष्ट गर्ने गरेको देखिन्छ ।

योगेश भट्टराई

पूर्वमन्त्री एवं नेकपा (एमाले)का सचिव योगेश भट्टराईले ३ लाख ६३ हजार फलोअर्स रहेको पेज चलाउँदै आउनु भएको छ । उहाँ अहिले एमालेको मिशन ग्रासरुट अभियान अन्तर्गत कर्णाली प्रदेशमा खटिनु भएको छ । उहाँले पछिल्लो समय मिशन ग्रासरुट अभियानका गतिविधिलाई प्राथमिकताका साथ पेजमा पोष्ट गर्ने गरेको देखिन्छ ।

उहाँले पछिल्लो अपडेट सल्यानको बिशाल कुपिण्डे दह परिसरमा नेपालको राष्ट्रिय झण्डा बोकेर उभिएको तस्बिर सार्वजनिक गर्नुभएको छ । उहाँले पौडेल राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिनुभएको छ भने नारी दिवस, फागु पूर्णिमा लगायतको पनि शुभकामना दिनुभएको छ । केही दिन अघि सूर्य विनायकदेखि घ्याम्पे डाँडासम्मको हाइकिङका तस्बिर पनि उहाँले पेजमार्फत सार्वजनिक गर्नुभएको छ ।

सामाजिक सञ्जालमा निकै सक्रिय नेता भट्टराईले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणीलाई पनि सार्वजनिक गर्ने गर्नुभएको देखिन्छ । पूर्वपर्यटन मन्त्री समेत रहनुभएका भट्टराईले मुख्य गरेर घुमफिरका तस्बिरलाई पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने गर्नुभएको देखिन्छ ।

राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले १ लाख २३ हजार फलोअर्स रहेको पेज चलाउँदै आउनु भएको छ । उहाँले कभर पिक्चरमा ‘भ्रष्टाचार गरेर खानु, आमाको रगत खानु सरह हो’ भन्ने भनाइ सहित हलो चिन्हमा मतदान गरौँ भन्ने तस्बिर राख्नुभएको छ । उहाँले दैनिक तीन–चार वटासम्म पनि स्ट्याटस राख्ने गरेको देखिन्छ । उहाँले आज दशौँ म्यूजिक खबर म्यूजिक अवार्डको नोमिनेसनमा सहभागी भएका तस्बिर राख्नुभएको छ । आजै राजनीतिप्रति टिप्पणी गर्दै ‘संविधान आफुले बनाएको दाबी गर्दै संविधानको संरक्षणका लागि गठबन्धन बनाएका दलहरू नै संबैधानिक व्यवस्थामा अलमलमा देखिए । हामीले त निरन्तर भन्दै आएका छौँ ,संविधानमा नमिलेका असंगत असंख्य विषयहरु छन् मिलाएर जानुपर्छ । संविधान गीता, बाइबल वा कुरान जस्तो असंशोधनीय हुँदैन । सन्दर्भ उपराष्ट्रपति निर्वाचन’ भनेर लेख्नुभएको छ ।