छोरीहरूलाई निम्तो दिन भित्री काठमाडौंमा पशुपतिको खट जात्रा

काठमाडौं, १ चैत । काठमाडौंको भित्री शहरमा हिजो पशुपतिनाथको खट जात्रा चलाइयो ।
पशुपति महादेव काठमाडौंको भित्री शहरमा पुगी यहाँका अजिमा (अष्टमातृका) हरू लाई पाशुपत क्षेत्रको बच्छलेश्वरी जात्रा अवलोकन गर्न निम्ता गर्न आएको भाव स्वरुप उक्त खट जात्रा चलाइएको हो ।
स्थानीय नेपालभाषामा यसलाई ‘दुदु च्याँय् च्याँय्’ भनिन्छ । काठमाडौंको भित्री शहरमा पशुपतिनाथको यो खट जात्रा चलाएपछि यहाँको ठूलो जात्रा पाहाँ चःह्रे शुरु भएको मानिन्छ ।
काठमाडौंमा जति पनि अजिमा (अष्टमातृका) हरू छन् उनीहरू सबैका आमा पशुपतिको बच्छलेश्वरी हुन् । पशुपतिलाई उनै बच्छलेश्वरीका पतिका रुपमा लिइन्छ । अतः पशुपतिले आफ्ना छोरीहरूलाई बच्छलेश्वरीको जात्रा अवलोकनको लागि निम्ता दिन उक्त खट जात्रा चलाइएको हो ।
यो जात्रा पशुपति क्षेत्रबाट शुरु भई सिफल, नक्साल भगवती हुँदै जमलको बाटो भएर काठमाडौंको भित्री शहरमा प्रवेश हुन्छ ।
त्यसपछि काठमाडौंमा कुमारीको रथयात्रा चलाइने रुटमा यो खटको परिक्रमा गराइन्छ । भित्री शहर प्रवेश हुँदा यो खट जात्रालाई पचली भैरव लगायत विभिन्न अजिमा स्थानहरूमा पनि परिक्रमा गराउने चलन थियो । अहिले भने जात्रालाई छोटकरीमा टुंग्याउने गरिन्छ ।
पशुपतिको यो खट जात्रा पछि काठमाडौंमा पाहाँ चःह्रे जात्राको तयारी शुरु हुन्छ । पाहाँ चःह्रे काठमाडौंको प्रमुख जात्रा मध्ये एक हो । यसमा यहाँका विभिन्न अजिमाहरूको खट जात्रा चलाउने गरिन्छ । साथै यही बेला टुँडिखेलमा घोडेजात्रा पनि हुन्छ ।