चर्को आलोचनासंगै पछि हट्याे सरकार, मलको अनुदान यथावत

काठमाडौं, ६ चैत्र । सरकारकाे मन्त्रिपरिषद्‌ बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्‍ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्‍ने निर्णय गरेको हो।

यसअघि, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयको सडक र सदनबाट सरकारलाई चर्काे आलोचनासंगै दबाब परेपछि सरकाले उक्त निर्णय फिर्ता लिन बाध्य भएको हो।

रासायनिक मलमा कृषकलाई दिएको अनुदान कटौती गरेर मूल्य बढाएको भन्दै विभिन्न राजनीतिक दलका विभिन्न किसान संगठन र संघ संस्थाहरूले सडकमा चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका थिए।

आइतबार बसेकाे संसद्‌ बैठकमा समेत प्रमुख प्रतिपक्ष दल तथा विभिन्न सांसदहरूले सरकारले मलमा दिइरहेकाे अनुदान कटौती गरेको विषयमा चर्को आलोचना गरेका थिए।