नागरिकको आवाज दबाउन मुख थुन्ने प्रचण्ड सरकार लोकतन्त्रको कुरूप विम्ब बन्दै
काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार दिउँसो काठमाडौंको नयाँ बानेश्वरमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसको कार्यक्रममा पुग्नुभयो ।
उहाँ सहभागी कार्यक्रममा नाराबाजी भयो । प्रचण्ड सहभागी कार्यक्रममा एक युवाले ‘बैंकको मिटर ब्याज मुर्दावाद, बैंकको ब्याज मिनाह गर् भन्ने जस्ता नारा लगाउँदै विरोध गरे । ती युवासँगै नाराबाजी गर्ने केही युवालाई प्रहरीले सासै फेर्न मुस्किल हुने गरी नाक–मुख थुनिदियो । त्यो तस्बिर अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्ययममा चर्चित बनेको छ ।
जानकारी अनुसार त्यसरी नारा लगाउने युवाहरु सोलुखुम्बुका उद्धव बस्नेत, बझाङका विप्लव खड्का र बाग्लुङ सोम शर्मा रहेका छन् । अहिले ती युवालाई ‘अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्न लागिएको जानकारी प्राप्त भएको छ ।
अहिले लोकतन्त्रको हिमायती ठान्ने माओवादीका अध्यक्ष प्रचण्ड मुलुकको प्रधानमन्त्री हुनुहुन्छ । गठबन्धनमा राष्ट्रियता लोकतन्त्र र समाजवादको नारा बोकेर हिँडेको नेपाली कांग्रेस छ । यहि गठबन्धन अहिले लोकतन्त्रकै मजाक उडाउँदै नागरिकको आवाज दबाउन नागरिकको मुख बन्द गर्दै आफूलाई लोकतन्त्रको कुरूप विम्बका रुपमा देखाउने यत्नमा लागेको छ ।
लोकतन्त्र विधिको शासन हो भन्ने तथ्यलाई समेत कत्लेआम गर्दै यस्ता घृणित व्यवहारमा उत्साहित भएपछि त्यसको सर्वत्र विरोध सुरु भएको छ । तर, सर्वत्र विरोध हुँदा पनि सरकार भने कानमा तेल हालेर यस्तो घटनालाई सामान्य रुपमा लिदैँ लाज पचाएर बसेको छ । उक्त घटनामा माफी माग्नुको सट्टा उल्दै ती युवालाई ‘अभद्र व्यवहारको मुद्दामा म्याद थप’ गर्ने गतिछाडा प्रयत्नमा सरकार लागेको छ ।
सरकारको त्यो गतिछाडा हर्कतको नेकपा (एमाले)ले कडा शब्दमा विरोध गरेको छ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मंगलबार प्रधानमन्त्री दाहाल सहभागी एक कार्यक्रममा केही युवाले नाराबाजी गर्दा प्रहरीले मुख थुनेर बोल्न नदिएको घटनामा प्रहरीले बोल्न नदिएर मुख थुनेको विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ ।
‘हिजोदेखि सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा प्रहरीले केही युवाहरुको मुख थुनिदिएको, घाँटी समाइरहेको, लछारपछार पारिरहेको तस्बिरहरु जताततै देखिएको छ,’ उहाँले भन्नुभयो, ‘यो किन भयो ? यी युवाहरुले के बोल्न खोजेका थिए र प्रहरीले त्यस्तो ज्यादति गरेको हो ? संविधानले स्वतन्त्रपूर्वक विचार राख्न पाउने, बोल्न पाउँने अधिकार सबै नागरिकलाई दिएको छ । प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ कि मिल्दैन ? यसो गर्ने प्रहरीलाई गृहमन्त्रालयले कारबाही गरेको छ कि छैन ? यो विषयमा गृहमन्त्रालयको म ध्यानाकर्षण गराउन चाहन्छु र यहाँ जवाफ पनि माग गर्छु ।’ त्यसो त सामाजिक सञ्जालमा पनि विरोध भैरहेको छ । तर, सरकार लाज पचाएर बसेको छ ।