एमालेले तनहुँमा सर्वेन्द्र खनाल र चितवनमा रामप्रसाद न्यौपानेलाई उठाउने

काठमाडौं, : नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावमा तनहुँ र चितवनका लागि उम्मेदवार चयन गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चितवन २ बाट एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो भने बारा २ मा भने आइतबार मात्र टुंगो लाग्ने भएको छ ।

पार्टी कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले बारा-२ का लागि भने उम्मेदवार टुंग्याउन नसकेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

‘बाराको राजनीति अलि तरल भएकाले थप छलफल गर्नुपर्ने देखियो’, गुरुङले भने, अध्यक्षज्यूले पार्टीका नेताहरूसँग परामर्श गरेर भोलिसम्म उम्मेदवारको टुंगो लगाउनुहुन्छ।’

नेपाल प्रहरीका पूर्व आइजिपी खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् । उक्त नगरपालिका तनहुँ क्षेत्र नम्बर १ मै पर्छ । खनाल मंसिर ४ को उपनिर्वाचनमा काठमाडौं क्षेत्र नं.६ बाट पराजित भएका थिए।

आगामी वैशाख १० गते तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले यही २० गते उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेकाे छ ।