वर्षामा रुझ्दै सहकालका देवता
काठमाडौं, २० चैत । सेतो मत्स्येन्द्रनाथलाई दुःख, कष्ट नाश गर्ने देवताका रूपमा पुज्ने गरिन्छ । साथै उहाँलाई अतिवृष्टि, अनावृष्टि जस्ता दुर्भिक्ष हरण गर्ने देवताका रुपमा पनि मान्ने गरिन्छ ।
यो वर्ष उहाँको पाँच दिन लामो रथ जात्रा हिजो आइतवार सम्पन्न भयो । तर दिनभरिको वर्षाले गर्दा जात्रा प्रभावित हुन पुग्यो । तथापि जात्रालाई रोक्न भने सकेन । जात्रा सम्पन्न भएपछि गरिने पूजाआजा, रथबाट तल ओराल्ने कार्य र त्यसपछि गरिने खट यात्रा समेत वर्षाका बीच सम्पन्न गर्नुपर्यो ।
जात्रामा सहभागी जात्रालुहरू कोही छाता ओढेर त कोही टाउकोलाई रुमालले छोपेर उपस्थित भइरहे ।
मत्स्येन्द्रनाथलाई सहकालका देवता पनि भनिन्छ । नाम अनुसार नै यो वर्ष पूरा जात्रा अवधिभरि वर्षा भइरह्यो । जात्रा सकियो, वर्षा पनि रोकियो ।
स्थानीय बूढापाकाहरू यसलाई दैवी संयोग मान्छन् ।
गत मंसिर महिनामा जनबहालमै सेतो मत्स्येन्द्रनाथको महास्नान (न्हवं) सम्पन्न गरिएको थियो । उक्त दिन दूध, पानी, घ्यू, मह र दहीले मत्स्येन्द्रनाथको स्नान गरिन्छ । यसको लागि देवताको सम्पूर्ण वस्त्र निकाल्ने गरिन्छ । यो महास्नानका दिन पनि काठमाडौंमा सामान्य भए पनि वर्षा हुने विश्वास गरिन्छ । नभन्दै हरेक वर्ष महास्नानका दिन वर्षा हुँदै आइरहेको पनि छ ।
यस वर्ष भने वर्षा भएको थिएन । मौसम घुम्म त भयो, तर पानी पर्न सकेन । अहिले रथ यात्राका बेला भने पानी परेको पर्यै भयो ।
पानी परिरहेको बेला सम्पन्न भएको मत्स्येन्द्रनाथ फिर्ती जात्राका केही तस्बिरः