मधेस सरकारबाट नेकपाका चार मन्त्रीको राजीनामा, समर्थन पनि फिर्ता

मधेस प्रदेश सरकार

काठमाडौँ, कार्तिक २० । मधेस प्रदेश सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का चार मन्त्रीले सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

नेकपाबाट प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहाले आज पदबाट राजीनामा दिनुभएको हो ।

नेकपा संसदीय दलका नेतासमेत रहनुभएका अर्थमन्त्री भट्टराईका अनुसार चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई ह्वाट्सएपमार्फत राजीनामापत्र पठाउनुभएको छ । मुख्यमन्त्री यादव काठमाडौँमा रहनुभएकाले उहाँलाई विद्युतीय माध्यमबाट राजीनामा पठाइएको भट्टराईले जानकारी दिनुभयो ।

उहाँले आजैदेखि लागू हुनेगरी सामूहिक राजीनामा दिएको बताउँदै राजनीतिक निकासका लागि सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिइएको जानकारी दिनुभयो । समर्थन फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखसमक्ष बुझाइसकिएको उहाँले बताउनुभयो ।

यसअघि गत असोज ३० गते नेकपा (एमाले) बाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले पनि सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

दुई प्रमुख दलका मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक कसरत सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *