ठमेल जस्तै काठमाडौँलाई २४ घण्टा खुलाउने तयारी

काठमाडौँ, २० कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेलमात्र नभई समग्र काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन अघि बढाएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको शान्ति सुरक्षा सम्बन्धी छलफलमा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले यस विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको बताउनुभयो ।

उहाँले ठमेललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न गैरकानुनी गतिविधि नियन्त्रणमा घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताउनुभयो । ठमेलका समस्या समाधानका लागि जिल्ला प्रशासनमा मासिक बैठक गर्ने प्रस्तावसमेत उहाँले राख्नुभयो ।

छलफलमा सार्वजनिक शौचालय, पार्किङ, फोहोर, ट्राफिक जाम, लागुऔषध कारोबार तथा सेवन र ढल व्यवस्थापनका समस्या उठाइएको थियो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले यस्ता समस्या समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य भइरहेको बताउनुभयो । ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले स्थानीय र व्यवसायी तयार भए ठमेललाई सवारीसाधन निषेधित क्षेत्र बनाउन सहयोग गर्ने बताउनुभयो ।

परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले २०८१ वैशाख १ देखि लागू गरिएको ठमेललाई २४ घण्टा सञ्चालन गर्ने आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलको पर्यटन विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *