रातो मत्स्येन्द्रनाथको जात्रा शुरु हुँदै, विवाद भने झन चर्कँदै
काठमाडौं, २५ चैत । पाटनमा रातो मत्स्येन्द्रनाथ जात्राको तयारी शुरु भइसकेको छ । तर जात्रा अगावै समाधान गरिसक्नुपर्ने कीर्तिपुरको मत्स्येन्द्रनाथ विवाद भने अझै समाधान भएको छैन । यसले गर्दा कीर्तिपुरवासी र पाटनका जात्राप्रेमिहरू चिन्तित भएका छन् ।
रातो मत्स्येन्द्रनाथ जात्राकै क्रममा हिजो मत्स्येन्द्रनाथको महास्नान (न्हवं) सम्पन्न भयो । लगनखेलस्थित न्हवं डबलीमा राखी हिजो मत्स्येन्द्रनाथलाई महास्नान गराइएको थियो । यसको लागि मत्स्येन्द्रनाथलाई तःबहालबाट जात्रा गरी लगनखेल पुर्याइएको थियो ।
महास्नान सकेपछि पुनः जात्रा गरी तःबहालस्थित मन्दिरमै विराजमान गराइयो । महास्नान सकिएपछि अब क्रमशः यो देवताका जात्रासम्बन्धी कार्यहरू अघि बढ्न थाल्छ । हिजो महास्नानपछि आजदेखि रथ बनाउन शुरु हुन्छ ।
मत्स्येन्द्रनाथको जात्रा शुरु हुनु अघि नै कीर्तिपुरमा स्थापना गरिएको मत्स्येन्द्रनाथको मूर्तिसम्बन्धी विवाद टुंग्याउने अपेक्षा गरिएको थियो । तर यो विवाद भने टुंगिनुको साटो झन् बल्झिँदै जाने संकेत देखा परेको छ ।
गत मंसिर महिनामा कीर्तिपुरको गःछेँस्थित प्यंगःथां भन्ने स्थानमा रातो मत्स्येन्द्रनाथ र स्थानीय याकः मिसाको मूर्ति स्थापना गरेपछि बुंगमतीस्थित रातो मत्स्येन्द्रनाथका पुजारीहरूको संगठन ‘३२ पानेजु संघ’ ले विरोध गरेको थियो । पानेजुहरूको विरोधपछि यो विवाद चर्किँदै गएको छ ।
गत दुई साता अघि ललितपुर महानगरपालिकामा सबै सरोकारवालाहरू सम्मिलित एक बैठकले कीर्तिपुरमा स्थापना गरिएको मत्स्येन्द्रनाथको मूर्ति त्यहाँबाट हटाउने निर्णय गरेको थियो ।
तर उक्त बैठकले गरेको निर्णयलाई कीर्तिपुरको सुखी गःछेँ समाजले भने अस्वीकार गरेको छ ।
ललितपुर बैठकले मूर्ति हटाउन निर्णय गरेपछि त्यसको प्रत्युत्तरमा कीर्तिपुरको गःछेँ टोलमा ‘खबरदार ! करुणामय निकाल्न पाइँदैन’ लेखिएको कालो ब्यानर टाँगिएको छ । यसले कीर्तिपुरमा स्थापना भइसकेको मूर्ति हटाउने निर्णय पनि कार्यान्वयन गर्न कठिन हुने संकेत दिएको छ ।
कीर्तिपुरमा मूर्ति स्थापनाको लागि पहल गर्ने निकाय सुखी गःछेँ समाजले ललितपुर महानगरपालिकाको बैठकले गरेको निर्णयलाई अस्वीकार गर्दै दुई पक्षीय वार्ताको लागि अनुरोध गरेको छ । यस विषयमा सरोकारवालाहरू मात्र बसी वार्ता गर्ने र त्यसको लागि वातावरण मिलाइदिन गुठी संस्थान, कीर्तिपुर नगरपालिका, ललितपुर नगरपालिकामा समाजले पत्र दिएको छ ।
उता मत्स्येन्द्रनाथका पुजारी पानेजुहरूको संस्थाले भने कीर्तिपुरमा उक्त मूर्ति नहटाएमा कीर्तिपुरमा हरेक वर्ष मत्स्येन्द्रनाथको फूल प्रसाद चढाउने कार्य नगर्ने भनी चेतावनी दिएको छ ।
मत्स्येन्द्रनाथको रथ जात्राका क्रममा भोटो जात्राको चार दिन अघि पाटनदेखि पानेजुहरू खाली खुट्टा नै हिँडेर कीर्तिपुरमा एक अविवाहित महिलालाई मत्स्येन्द्रनाथको फूल प्रसाद प्रदान गर्ने परम्परा रहँदै आएको छ ।
मत्स्येन्द्रनाथको फूल प्रसाद ग्रहण गर्ने ती जीवित महिलालाई रातो मत्स्येन्द्रनाथकी प्रेमिका भन्ने गरिन्छ ।
कीर्तिपुरमा राखिएको मत्स्येन्द्रनाथको मूर्ति नहटाएकै कारण यो वर्ष कीर्तिपुरसँग जोडिएको मत्स्येन्द्रनाथको पर्व तोडिने सम्भावना बढ्दै जान थालेको छ ।