पचास वर्ष अध्यापन पश्चात नेपाल इन्जिनियरिङ कलेजबाट बिदाई

भक्तपुर, २६ चैत्र । प्राध्यापक सुदर्शन कारञ्जितले पचास वर्षको अध्यापन पश्चात नियमित अध्यापनको पेशाबाट उमेरहदको कारण बिदा लिएका छन् ।

नेपाल इन्जिनियरिङ कलेजमा आज आयोजित बिदाई कार्यक्रममा प्राध्यापक सुदर्शन कारञ्जितलाई पचास वर्षको अध्यापन पश्चात नियमित सेवाबाट बिदाई गरिएकाे हाे ।

उनलाई कलेजका प्राचार्य, सहायक प्राचार्य, विभागीय तथा शाखा प्रमुखहरू तथा शिक्षक कर्मचारी प्रतिनिधिहरूले दोसल्ला तथा प्रमाण-पत्र सहित बिदाई गरेका छन् ।

प्राध्यापक सुदर्शन कारञ्जितको अध्यापन कार्य २०३० सालमा ललितपुरको एउटा माध्यमिक स्कूलमा प्रारम्भ भएको थियो। बेलायतको द सिटि युनिभर्सिटिबाट सन् १९८७ मा स्नातकोत्तर उपाधि हासिल गरी लगभग १८ वर्ष राष्ट्रिय कम्प्युटर केन्द्र सिंहदरबारमा काम गरिसकेपछि उनी पुनः शिक्षण पेशामा फर्किएका थिए ।

पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपाल इन्जिनियरिङ कलेजमा सञ्चालित पिजिडिसिए कार्यक्रममा उनी सन् २००० जनवरी १६ मा सह-प्राध्यापकको रूपमा आवद्ध भएपछि लगातार २३ वर्ष सोही कलेजमा स्नातक तथा स्नातकोत्तर तहका कम्प्युटर इन्जिनियरिङ सम्बन्धी विभिन्न विषयहरू अध्यापन गराएका थिए।

सन् २००२ मा उनी प्राध्यापकमा पदोन्नति भए। उक्त सेवा अवधिमा उनले विभागीय प्रमुख भई सन् २००२ मा र दुई पटक विद्यार्थीहरूको काउन्सेलरकोरूपमा काम गरेका थिए।

नियमित अध्यापन बाहेक कलेजका विभिन्न समितिहरूमा योगदान गर्दै आएका प्राध्यापक कारञ्जितले दुई वर्ष अगाडि कलेजको सहायक प्राचार्य छनौटको मापदण्ड तयार गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *