गठबन्धनले देशलाई ओरालो यात्रामा लगेको ओलीको आरोप, ९ किलोको मालासहित बाँकेमा स्वागत

बाँके, २७ चैत । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशन बाँकेको नेपालगञ्जमा सुरु भएको छ । महाधिवेशनको आज एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो । महाधिवेशनका लागि बेहुली झैँ सिँगारिएको नेपालगञ्जमा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी भएसँगै कोहलपुरदेखि कार्यक्रम स्थल नेपालगन्जको होटल स्नेहसम्म राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन सम्बन्धी झण्डा र ब्यानरसहित झकिझकाउ बनाएको बनाएको छ भने ठाउँ–ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ ।

महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले गठबन्धनले देशलाई ओरालो यात्रामा लगेको आरोप लगाउनुभयो । नेकपा (एमाले)ले भूकम्पले भत्किएका घरहरू निर्माण गरेर हस्तान्तरण गरेको स्मरण गराउँदै ओलीले भन्नुभयो– ‘हामी सरकारमा भएको भएर कोशी नदीबाट कलकत्तासम्म पानीजहाज चलाउने थियौं । अहिले त्यो काम भएको छैन । फेरि हामी सरकारमा गएपछि त्यो काम अघि बढ्छ ।’ उहाँले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा विकृति आएको पनि उल्लेख गर्नुभयो ।

‘पञ्चायत एक दिन थियो इतिहास भयो । घामजुन रहुञ्जेल रहन्छ भन्थे । हामीलाई समातेर जेल हालेका थिए,’ उहाँले भन्नुभयो, ‘तर, केही समयमा ढल्यो । हामीले भनेका थियौं, निरंकुश राजतन्त्र रहन सक्दैन भनेर । त्यो पनि समाप्त भयो । आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ ।’

उहाँले कतिपय विकृति विसंगतिहरु जस्तै गठे संस्कृति भएको भन्दै गठबन्धनको संस्कृति राजनीति बिहीन भएको आरोप लगाउनुभयो । ‘विचार छैन। जेसुकै भए पनि, जसरी भए पनि एउटा निकम्मा सरकार बनाउनुपर्ने, कुकर्म गर्ने खालको स्थिति बनाएको छ,’ उहाँले भन्नुभयो, ‘यसले देशलाई ओरालो लगाएको छ । तर, देशलाई सही बाटोमा ल्याउन सकिन्छ ।’

उहाँले अहिलेसम्म एमाले सरकार नभएका कारण कोशी नदीमा पानीजहाज चल्न नसकेको उल्लेख गर्नुभयो । उहँले सम्वोधन गर्दै अध्यक्ष ओलीले एमाले लौरो टेक्ने ज्येष्ठ नागरिकको मात्र नभई सशक्त युवाको पनि पार्टी भएको पनि बतनाउनुभयो । युवाहरू सूर्य जस्तै अनुशासित हुनु पर्नेमा बताउँदै ओलीले अनुशासनमा नबस्ने व्यक्ति र संगठन कुबाटोमा जाने प्रष्ट पार्नुभयो ।

युवालाई देशमा नै बसेर शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर एमालेले सिर्जना गर्ने ओलीको भनाई थियो । विदेशमा रहेको नेपाली युवालाई छिट्टै घर फर्कने वातावरण बनाउने ओलीको भनाई थियो । उहाँले राष्ट्रिय युवा संघलाई एमालेको बलियो खम्बाको रुपमा व्याख्या गर्नुभयो । पार्टीविरुद्ध घेराबन्दी हुँदा युवा संघ सडकमा उत्रिएको स्मरण गर्नुभयो ।

उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकारले अहिलेको अर्थतन्त्र जोगाउन नसक्ने दाबी गर्नुभयो । उहाँले अहिलेको अवस्था बिग्रिरहेको अर्थतन्त्र जोगाउने साहस वर्तमान सरकारमा नरहेको टिप्पणी गर्नुभयो । महासचिव शंकर पोखरेलले देशलाई संकट पर्दा राष्ट्रिय युवा संघ नेपाल जनताको पक्षमा प्रस्तुत हुने संगठन भएको उल्लेख गनुृभयो । पोखरेलले नेपालमा राष्ट्रिय युवा संघ नेपालले गौरवशाली भूमिका खेलेको बताउदै पोखरेलले रसंगठनको विरासतलाई अझ अघि बढाउन शुभकामना दिनुभयो ।

महाधिवेशनको उद्घाटन समारोहमा पार्टी स्थायी समिति सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य एवम् युवा इन्चार्ज महेश बस्नेत लगायतको सहभागी थियो । उक्त अवसरमा अध्यक्ष ओलीलाई नरैनापुरका नेता कार्यकर्ताहरुले ९ किलोको फुलको माला लगाइदिएका थिए । युवा संघ नेपालमा अध्यक्षका लागि तीन जना आकांक्षी देखिएका छन । क्रान्ति बुर्लाकोटी, बर्तमान महासचिव क्षितिज थेवेसँगै उपाध्यक्षद्वय अञ्जना अधिकारी र सन्तोष रावल अध्यक्षका लागि आकांक्षी देखिएका छन् ।

उदघाटन समारोहमा कलाकार बद्रि पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रविओडलगायतले सांगीतिक प्रस्तुति दिएका थिए । महाधिवेशनमा भाग लिन देशभरीका दुईहजार बढी प्रतिनिधि र अतिथिहरु नेपालगञ्ज पुगेको युवा संघले जानकारी दिएको छ । महाधिवेशनबाट नेतृत्व चयन सर्वसम्मत गर्ने प्रयास भइरहेको पनि संघले जानकारी दिएको छ ।