जुम्लाको पातारासी गाउँपालिकाले गर्याे बालविवाह रोकथाम गर्ने उपाय

जुम्ला, २८ चैत्र । जुम्लाको पातारासी गाउँपालिकाले बालविवाह रोकथाम गर्न वडाको सिफारिस अनिवार्य गरेको छ ।

उक्त पालिकाको– ५ मा पर्ने दुर्गम चारवटा गाउँलाई बालविवाहमुक्त गाउँ घोषाण गरिएको छ । वडाको सिफारिस अनिवार्य भएपछि बालबिबाह घट्ने पालिकाकाे अंकलन छ ।

दिगो विकासको लक्ष्यअनुरूप पातारासीका गाउँलाई बालविवाहमुक्त घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिह बोहोराले जानकारी दिनुभयो ।

यहाँका आठवटा स्थानीय तहका ६० वडामध्ये पातारासी गाउँपालिका–५ वडालाई बालविवाहमुक्त घोषणा गरिएको छ । अध्यक्ष बोहोराले भन्नुभयो, “विवाह उमेर समूहका २० वर्षमुनिका कुनै पनि बालबालिकाले विवाह नगरेको सर्वेक्षणबाट देखिएपछि बालविवाहमुक्त गाउँ घोषणा गरिएको हो ।”

अब अरु वडालाई छिट्टै बालविवाहमुक्त गरिने भएको छ । स्थानीय सरकारको प्राथमिकतामा परेको सामाजिक विकृति रोकथाम गर्न यो महत्वपूर्ण काम भएको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो ।

बालविवाहमुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बाल क्लब, वडा सरकार, समूह परिचालन तथा यससम्बन्धी परियोजना लागू गरेर अन्तत बालविवाह शून्यमा झार्न सफल भएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले जानकारी दिनुभयो ।