चिसो बढेपछि भेडाका बथानसहित बेँसी झर्दै बाजुराका किसान
बाजुराका भेडापालक किसान
काठमाडौँ, कार्तिक २२ । हिमाली भेगमा चिसो बढ्न थालेपछि बाजुराका भेडापालक किसान भेडाका बथानसहित बेँसी झर्न थालेका छन् । कात्तिक दोस्रो साताको वर्षा र हिमपातपछि उच्च लेकाली क्षेत्रमा चिसो बढ्नुका साथै चरन क्षेत्रसमेत प्रभावित हुन थालेपछि किसान मौसमी बसाइँसराइमा लागेका हुन् ।
बूढीनन्दा नगरपालिका–९ का भेडापालक किसान सुमन थापा परिवारसहित २०० भेडा लिएर बेँसी झर्नुभएको छ । चिसो बढ्दै गएपछि आमाबुबा, श्रीमती र छोराछोरीसहित उहाँ साँफे–मार्तडी सडकखण्ड हुँदै अछामको गैलतर्फ लाग्नुभएको हो ।
गाउँमा हिउँ पर्न थालेपछि भेडा चराउन कठिनाइ हुने र चिसोले पशुचौपायालाई समेत असर गर्ने भएकाले चैत–वैशाखसम्मका लागि बेँसी झर्न लागेको थापाले बताउनुभयो । उहाँका अनुसार लेकाली क्षेत्रमा हिउँ जम्न थालेपछि घाँस पाउन मुस्किल हुने भएकाले भेडाको बथान लिएर अनुकूल चरन क्षेत्र खोज्दै बेँसी पुग्नुपर्ने बाध्यता छ ।
बाजुराका भेडापालक किसानका लागि यो नयाँ अभ्यास होइन । पुस्तौँदेखि चल्दै आएको मौसमी बसाइँसराइ यहाँको पशुपालन प्रणाली र ग्रामीण जीवनशैलीको अभिन्न हिस्सा बनेको छ । गर्मीयाममा उच्च हिमाली तथा लेकाली क्षेत्रमा पशु चराउने किसान हिउँद सुरु भएसँगै भेडाबाख्राको बथान लिएर न्यानो र घाँस उपलब्ध हुने बेँसीतर्फ झर्ने गर्छन् ।
उच्च हिमाली क्षेत्रमा चिसो बढ्दै जाँदा हिउँले चरन क्षेत्र ढाक्ने र घाँसको अभाव हुने भएकाले भेडालाई बेँसी झार्नुपर्ने हुन्छ । यसरी बसाइँ सर्दा किसानले परिवारका सदस्य, पशुधन र आवश्यक बन्दोबस्तीका सामानसमेत सँगै लैजाने गरेका छन् । महिनौँसम्म घरबाहिरै बसेर पशुपालन गर्नुपर्ने भएकाले यो यात्रा किसानका लागि सहज भने छैन ।
जिल्लाका उच्च हिमाली क्षेत्रका भेडापालक किसान हिउँदमा चिसो छल्न आफ्नै जिल्लाका बूढीगङ्गा र खप्तड छेडेदहलगायत क्षेत्रका साथै छिमेकी जिल्ला अछाम र डोटीका विभिन्न स्थानमा पुग्ने गर्छन् ।
मौसमी बसाइँसराइसँगै किसानले चरन क्षेत्रअनुसार आफ्नो पशुपालनको समयतालिका मिलाउने गरेका छन् । लेकमा हिउँ र चिसो बढेपछि बेँसी झर्ने तथा गर्मी सुरु भएपछि पुनः उच्च भूभागमा फर्कने परम्पराले बाजुराको परम्परागत भेडापालन व्यवसायलाई निरन्तरता दिँदै आएको छ ।
आधुनिक जीवनशैली र बदलिँदो रोजगारीका अवसरका बीच पनि बाजुराका किसानले पुस्तौँदेखिको यो परम्परा जोगाइरहेका छन् । भेडाका बथानसँगै लेकबेँसी गर्ने उनीहरूको जीवनशैली केवल मौसमी बसाइँसराइ मात्र नभई हिमाली भूगोल, प्रकृति र पशुपालनबीचको गहिरो सम्बन्धको उदाहरणसमेत बनेको छ ।
