अवैध लागूऔषधसहित ठमेलकाे होटल याला पिकबाट २ जना पक्राउ
काठमाडौं, ६ वैशाख । काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित होटल याला पिकबाट अवैध लागूऔषध सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीले ५१ वर्षीय भारतीय नागरिक रविन्द्र कुमार पाराशरलाई १ केजी ८० ग्राम कोकिनसहित मंगलबार बिहान पक्राउ गरेको हाे ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा महिलाले बोक्ने झोलाभित्र फल्सबटम बनाई लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएकाे छ ।
प्रहरीकाे थप अनुसन्धानकाे क्रममा उक्त झोला केनियाका नागरिक ६३ वर्षीया पिलिसिला वान्जा न्डिरितु महिलासँग लिएको भन्ने खुल्न आएपछि काठमाडौं ठमेलस्थित होटल ट्राभलर्स होमबाट उक्त महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले उनीहरू विरूद्ध लागूऔषध मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।