गुल्मीमा आगो निभाउने क्रममा बालकको मृत्यु, एक घाइते
गुल्मी, ८ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको मृत्यु भएकाे छ भने एकजना घाइते भएका छन् ।
आगलागीमा परी गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा मिशन अस्पताल पाल्पामा मृत्यु भएको हो ।
गए राति आफ्नो परिवारका सदस्यका साथमा स्थानीय बर्दवास जङ्गलमा लागेको आगो निभाउने क्रममा मुखिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राति नै गुल्मी अस्पताल तम्घास ल्याइएको थियो ।
त्यहाँ उपचार हुन नसेकपछि राति नै पाल्पा पठाइएको थियो । मुखियाको उपचारकै क्रममा बिहान मिसन अस्पताल पाल्पामा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल, गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिनुभयो ।
सोही ठाउँमा आगलागीमा परी घाइते भएका ५५ वर्षीय धनबहादुर जोगी कुँवरलाई पनि पाल्पामा उपचार हुन नसकेपछि आज बिहानै थप उपचारका लागि बुटवल पठाइएको छ ।