पुस्तक समीक्षा : दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक

कृष्ण अधिकारी
काठमाडौँ, ८ वैशाख। आजकल, कतिपय अध्येताले देशका जातजातिको जीवनशैलीलाई समेटेर अध्ययन गर्ने तथा कृति प्रकाशन गर्ने क्रममा मन्दी आएको विचार राख्दै आएका छन् ।

नेपालजस्तो जातजाति, भाषा, संस्कृति आदिका दृष्टिले विविधताले भरिएको देशका लागि यस्तो आवाज आउनु सुखद् प्रसङ्ग अवश्य पनि होइन । यद्यपि, यस क्षेत्रमा काम ठप्पै भएको भने होइन । हुनुपर्ने जति काम नभए पनि केही न केही कामचाहीँ अवश्य भइरहेको छ ।

यस क्रममा लमजुङको दुराडाँडा क्षेत्र मूल थातथलो मानिएको दुरा समुदायबारे खोजमूलक कृति आएको छ । कृतिको नाम हो– ‘दुरा इतिहास र संस्कृति’ । दुरा समुदायको ऐतिहासिक र सांस्कृतिक पक्षलाई समेटेर ‘दुरा इतिहास र संस्कृति’ नामक खोजमूलक पुस्तक प्रकाशन भएको छ ।

अल्पसङ्ख्यक अवस्थामा रहेको दुरा समुदायले मूलतः भाषिक तथा जनसाङ्ख्यिक समस्या भोग्दै आएको छ । यसबाट दुरा समुदायको पहिचान पनि सङ्कटमा पर्दै गएको अनुभूत गरिँदैछ । दुराहरूको भाषा पनि मृतप्रायः अवस्थामा छ । विसं २०५८ को राष्ट्रिय जनगणनाअनुसार दुरा जातिको कूल जनसङ्ख्यामा पाँच हजार एक सय ६९ रहेको छ ।

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार दुराहरूको पाँच हजार तीन सय ९४ रहेको छ । दुरा सेवा समाजले २०५४ सालमा गरेको एक अध्ययनमा पाँच हजार छ सय ७६ रहेको छ । त्यसमा जिल्लागत जनसाङ्ख्यिक वितरण हेर्दा लमजुङ ७२ प्रतिशत, तनहुँ १६ प्रतिशत, चितवन छ प्रतिशत, कास्की तीन प्रतिशत र अन्य जिल्ला तीन प्रतिशत रहेको छ ।

यस पुस्तकमा दुरा समुदायको समीक्षात्मक इतिहास, थातथलो, जनसङ्ख्या, भाषिक पक्ष तथा जन्मदेखि मृत्युसम्मका संस्कार समेटिएका छन् । यसैगरी, दुरा समुदायमा प्रचलित विश्वास प्रणाली, खाद्य संस्कृति, चाडवाड, परम्परागत उपचार पद्धति, दुरा समुदायको पहिचानसँग जोडिएका स्थाननाम, लोकजीवनका विभिन्न रोचक आयाम एवं अमूर्त सांस्कृतिक सम्पदा आदिबारे विस्तृत चर्चा गरिएको छ ।

पुस्तकमा सङ्क्षिप्त इतिहास र परिचय, दुरा समुदायको पहिचानसँग जोडिएका स्थान नाम, अमूर्त सांस्कृतिक सम्पदा, विश्वास प्रणाली, लोकजीवन, चाडपर्व तथा उत्सव, खाद्य संस्कृति, परम्परागत ओखतीमूलो, पूजाआजा, जन्म संस्कार, विवाह पद्धति र मृत्यु संस्कारलाई विस्तृतरूपमा समेटिएको छ ।

कूल १२ अध्यायमा विभक्त पुस्तकको परिचय खण्डमा इतिहास, थातथलो, जनसङ्ख्या भाषिक पक्ष एवं वेशभूषालाई समेटिएको छ । पुस्तकमा समाज समयक्रमसँगै व्यक्तिवादी बन्दै गएको घडीमा पनि दुरा समुदायमा बाँचिरहेका सामूहिक जीवनशैलीका झलकलाई प्रस्तुत गरिएको छ ।

दुरा समुदायको जीवनशैलीलाई चित्रण गर्ने क्रममा माइती राख्ने, सियो राख्ने, लोबारे खाने, रोदी बस्ने, माया विचार्ने, चियाँ हेर्नेजस्ता अनौठो सांस्कृतिक रीतभाँतबारे रोचक शैलीमा वर्णन गरिएको छ । यस्ता रोचक सांस्कृतिक रीतभाँतलाई जनाउने शब्दको अर्थ बुझाउन अनुसूची खण्डमा पारिभाषिक शब्दावलीसमेत दिइएको छ ।

पुस्तकमा दुरा समुदायको पहिचानसँग जोडिएका स्थान, नामबारे चर्चा गरिएको छ । यस क्रममा कुनै समयमा दुरा समुदायको बसोबास भएको र अहिले बसोबास नभएका तर दुरा समुदायको पहिचान भने कायमै भएका ठाउँका बारेमा दुर्लभ प्रकृतिका जानकारी दिइएको छ । दुरा थोक, दुरा गाउँ, दुरा टहरा, दुराबारी, दुराको बोट आदि ठाउँका बारेमा हालसम्म बाहिर नआएका जानकारी पस्किने काम भएको छ ।

पुस्तकमा दुरा समुदायमा प्रचलित परम्परागत ओखतीमूलो तथा उपचार पद्धतिबारे पनि प्रकाश पारिएको छ । आजको भोगवादी युगमा महँगो आधुनिक औषधोपचारले बजार पिटिरहेको घडीमा त्यस्ता परम्परागत उपचार पद्धति मूल्यहीनझैँ लाग्नसक्छ तर, औषधोपचार निरन्तर महँगो बन्दै गएको छ ।

नागरिकले उपचारका नाममा अनावश्यक रूपमा महँगो मूल्य चुकाउनु परिरहेको छ । पुस्तकमा वर्णित परम्परागत ओखतीमूलोबारे अध्ययन गरिरहँदा परम्परागत ज्ञानमा आधारित यस्ता उपचार पद्धतिलाई ब्युँताउन पाएमा नागरिकलाई केही राहत मिल्थ्यो कि भन्ने चेतना पनि पलाउँछ ।

प्राध्यापन तथा शोधकार्यमा संलग्न यमबहादुर दुराले शोधकार्यपछि पुस्तक लेखेको हुन् । यसभन्दा अघि पनि विभिन्न अध्येताले दुरा समुदायबारे लघु शोधपत्र नलेखेका होइनन् । जनकवि केशरी धर्मराज थापा, राजेश गौतम तथा अशोक थापा मगर, नगेन्द्र शर्मा आदिले आ–आफ्ना पुस्तकको एक हिस्साका रूपमा दुरा समुदायबारे केही प्रकाश पारेका छन् ।

यसैगरी, डा गणेशमान गुरुङ, डा ऋषिकान्त अधिकारी, मुक्तिनाथ घिमिरे आदिले दुरा समुदायबारे सग्लो पुस्तक नै लेखेका छन् । यद्यपि, विषयवस्तुको फैलावट, अन्तरवस्तुको व्यवस्थापन र प्रस्तुतीकरणका दृष्टिले यस कृतिलाई हालसम्मकै सघन र व्यापक मानिएको छ ।

नवप्रकाशित पुस्तकका कृतिकारले दुरा समुदायको इतिहास र संस्कृतिलाई द्रष्टा र भोक्ता दुवैरूपमा चित्रण गरेका छन् । पुस्तकले दुरा समुदायबारे आएका भ्रामक भाष्यलाई चिर्ने काम पनि गरेको छ । उदाहरणका लागि, भारतमा मुसलमान आक्रमण भएपछि राजस्थानस्थित चित्तौडगढबाट भागेर आएका राजपूत रमणी र उनका नोकरबीचको संसर्गबाट दुरा जातिको उत्पत्ति भएको भन्ने अपमानजनक भनाइ कसै कसैले अघि सारेका छन् । बिना ऐतिहासिक आधार तथा प्रमाण अघि सारिएका यस्ता भाष्यलाई विभिन्न ऐतिहासिक साक्ष्य तथा प्रमाणका आधारमा खण्डन गरिको छ ।

यसैगरी, दुरा समुदायको सांस्कृतिक पक्षबारे कतिपय लेखकले अज्ञानवश तथा भूलवश लेखेका भ्रामक जानकारीलाई सप्रमाण भ्रम निवारण गर्ने प्रयास गरिएको छ । पुस्तकलाई प्राज्ञिक बनाउने प्रयास पनि भएको छ । सूचनाको स्रोतलाई शोधविधि अनुसार उद्धरण गर्ने प्रयास गरिएको छ । पुस्तकमा सन्दर्भ सामग्री, अनुक्रमणिका, ‘क्रस रिफरेन्स’ तथा अनुसूचीलाई पनि दिइएको छ ।

आवश्यकताअनुसार मौखिक स्रोत पनि प्रयोग गरिएको छ, जुन एकप्रकारले नयाँ अभ्यास देखिन्छ । यसका अतिरिक्त लेखक दुरा समुदायकै व्यक्ति भएकाले आफ्नो समुदायमा हुर्कंदा बढ्दा देखेभोगेका सांस्कृतिक जीवनका आयामलाई अनुभवप्रधान र अवलोकनमूलक दृष्टिबाट प्रस्तुत गर्ने काम गरिएको छ ।

पुस्तकमा सुधान गर्नुपर्ने पक्ष पनि देखिन्छ । दुरा समुदायको सांस्कृतिक पक्षको वर्णन गर्दा पुस्तक मूलतः वर्णनात्मक देखिएको छ । यद्यपि, यसमा विश्लेषण तथा समीक्षा नभएको होइन । खासगरी, सांस्कृतिक पक्षको वर्णन गर्दा त्यसको विश्लेषणात्मक पक्षलाई पनि अझ मजबुत बनाउन सकेको भए पुस्तक अझ बढी पठनीय हुने थियो ।

पुस्तकमा ठाउँ–ठाउँमा तस्बिर पनि प्रयोग गरिएका छन् । तर, पुस्तक पढ्दै जाँदा पाठमा वर्णित सन्दर्भ बुझाउने खालका सान्दर्भिक तस्बिर तथा ग्राफिक्सको कमी भएको प्रतीत हुन्छ ।

समग्रमा भन्दा, यस पुस्तकलाई दुरा समुदायको ‘इथ्नोग्राफिक अध्ययन’ को गतिलो खुराकको रूपमा लिन सकिन्छ । भविष्यमा दुरा समुदायबारे थप अध्ययन गर्न चाहनेका लागि यस पुस्तक एउटा गतिलो आधार बन्न सक्छ । साथै, नेपालका अल्पसङ्ख्यक दुरा समुदायको इतिहास र संस्कृतिको अभिलेखीकरण तथा सम्वद्र्धनमा पुस्तकले रचनात्मक भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।