विश्वकै धनी देश अमेरिका भए पनि विश्वकै खुशी देश चाहिँ फिनल्याण्ड कसरी भयो ?

काठमाडौं, ९ वैशाख । संसारको सबैभन्दा धनी देश अमेरिका हो । तर संसारको सबैभन्दा खुशी देश भने फिनल्याण्ड बनेको छ । यसले के देखाउँछ त भन्दा वास्तवमा धनी भए पनि मानिस खुशी चाहिँ नहुने रहेछ ।

आखिर विश्वको सबैभन्दा धनी देश अमेरिकाका अमेरिकीहरूभन्दा फिनल्याण्डका फिनिशहरू किन धेरै खुशी छन् ? यसबारे विश्लेषण गरेकी छिन् फिनल्याण्डकी चर्चित पत्रकार मार्जा हेइनोनेनले । सीएनएन अनलाइन संस्करणमा प्रकाशित उनको लामो लेखको सारसंक्षेप ।

वल्र्ड ह्यापिनेस रिपोर्टले मेरो देश फिनल्याण्डलाई पृथ्वीकै सबैभन्दा खुशी भएका मानिसहरूको देश भनेर सूचीकृत गरेको छ । गएको छ वर्षदेखि लगातार फिनल्याण्ड यो सूचीको पहिलो नम्बरमा कायम छ । मलाई लाग्छ, ‘अमेरिकी सपना’ लाई नै महान ठान्ने र अमेरिकालाई विश्वकै महान देश मान्ने केही अमेरिकीहरूलाई यो समाचारले झस्काइदिएको हुनुपर्छ ।

सन् २००२ देखि विभिन्न ‘फ्याक्टर’ हरुको विश्लेषण गरी ‘विश्व खुशी प्रतिवेदन’ सार्वजनिक गर्ने चलन शुरु भएको पाइन्छ । यो प्रतिवेदनले मुलुकको कुल गार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, सामाजिक सहयोग, औसत आयु, आफूले चाहे जसरी जिउने स्वतन्त्रता र भ्रष्टाचार सम्बन्धी सामाजिक अवधारणालाई आधार बनाएको हुन्छ ।

विश्वका १४९ देशहरूमा गरिएको यो सर्वेक्षणमा अमेरिका १५ औं स्थानमा रहेको छ । यो सूचीमा अमेरिका आजसम्म ‘टप १२’ भन्दा मुनि कहिल्यै आउन पाएको छैन । सन् २०२० मा त अमेरिका १८ औं स्थानमा थियो ।

अन्य नर्डिक मुलुकहरूमा जस्तै फिनल्याण्डमा पनि राम्ररी सञ्चालित एवं प्रजातान्त्रिक संस्थाहरू छन् जसले आफ्ना नागरिकहरूलाई उच्चतम सुविधा र सुरक्षा प्रदान गर्दछ । आफ्ना राज्यका संस्थाहरूप्रति फिनल्याण्डवासीको अत्यन्त ठूलो विश्वास छ । अमेरिकी संस्थाहरू प्रति नागरिकको यति ठूलो विश्वास रहेको पाइँदैन ।

स्मरणीय छ, विश्वका खुशी मुलुकहरूको सूचीमा नर्डिक मुलुक डेनमार्क दोस्रो नम्बरमा छ भने आइसल्याण्ड चौथौं र नर्वे छैठौं नम्बरमा रहेको छ । यी सबै राष्ट्रहरूको इतिहास एकै खालका छन् भने यिनीहरूले आजको अवस्थासम्म पुग्न तय गरेको संघर्षको यात्रा पनि करिब करिब एकै प्रकारका छन् ।

यी मुलुकहरूमा त्यति गहन प्रकृतिको वर्गीय भेद र आर्थिक असमानता पनि पाइँदैन जति कि अमेरिका लगायतका देशहरूमा देखिने गरिन्छ । हाम्रा आर्थिक सूचकहरूले ‘ह्याभ्स’ र ‘ह्याभ्स नट’ हरु जन्माउँदैनन् । चाल्र्स डार्बिनको ‘सक्नेले जिउने’ भन्ने सिद्धान्तलाई पनि अंगीकार गर्दैन जसले अवसरको फाइदा लिन सक्नेलाई मात्रै पुरस्कृत गर्दछ र अन्ततः समाजमा वर्गीय विभाजनलाई बढावा दिन्छ ।

नर्डिक मुलुकका निवासीहरू यति धेरै खुशी हुनुका कारणबारे राजनीतिशास्त्री रोनाल्ड इंग्लेहार्ट भन्नुहुन्छ– यी मुलुकहरूमा आधुनिकीकरणका सफल उदाहरणहरू प्रशस्त छन्, उच्चतम उन्नति हासिल गरेका छन्, सामाजिक सद्भाव कायम छ र राजनीतिक एवं व्यक्तिगत स्वतन्त्रता मज्जाले उपभोग गर्न पाइन्छ ।

बाहिरबाट हेर्दा अमेरिकामा देखिने एउटा साझा दृश्य हो– अत्यधिक रुपमा पैसाप्रतिको मोह । पैसा कमाउने, सकभर त्यसलाई बढी बनाउने र एक पटक पाइसकेपछि त्यसलाई हातबाट जानै नदिने । मेरा अमेरिकी साथीहरू पैसा कमाउनैका लागि किन यति धेरै मानसिक उर्जा खर्च गर्छन् भनेर छक्क पर्ने गर्छु ।

मैले अनुभव गरेको छु, उनीहरूसँग यो बाहेक अर्को विकल्प पनि छैन । किनभने अमेरिकामा तपाइँले कति पैसा जम्मा पार्नुभएको छ भन्ने कुरामै तपाइँको भविष्य निर्धारित रहेको हुन्छ । यदि तपाईंले स्कुलको फी तिर्न सक्नुभएन, स्वास्थ्य खर्च जुटाउन सक्नुभएन वा बुढ्यौलीका लागि केही कोष खडा गर्न सक्नुभएन भने तपाईंको जीवन दुःखदायी हुन सक्छ ।

यही कुरा फिनल्याण्ड लगायतका नर्डिक मुलुकहरूमा कस्तो हुन्छ त ? आउनोस्, मेरै अनुभवका आधारमा यसको चर्चा गरौँ ।

मेरा बा एउटा निर्माण कम्पनीमा काम गर्नुहुन्छ भने आमा एउटा फैक्ट्रीमा कार्यरत हुनुहुन्छ । हाम्रो शिक्षा प्रणालीलाई धन्यवाद दिनै पर्छ जसले मलाई विद्यावारिधिसम्मको शिक्षा निःशुल्क पढ्ने अवसर प्रदान गर्यो । अहिले मेरा दुई छोरीहरूले पनि विश्वकै उत्कृष्ट शिक्षा निःशुल्क पाइरहेका छन् । एउटी एकल आमाका रूपमा मैले छोरीहरूको शिक्षाको लागि आफ्नो पकेटबाट एक पैसा पनि तिर्नु पर्दैन ।

फिनल्याण्डमा सबैका लागि डे केयर सुविधा सस्तोमा उपलब्ध छ । मेरा दुई छोरीहरू स्कुल जाने उमेर पुग्नु अघि अत्यन्तै राम्रो डे केयर सेन्टरमा हुर्के जसले गर्दा मलाई काम गर्न सहज भयो ।

फिनल्याण्डमा सबैका लागि डे केयर सुविधा सस्तोमा उपलब्ध छ । मेरा दुई छोरीहरू स्कुल जाने उमेर पुग्नु अघि अत्यन्तै राम्रो डे केयर सेन्टरमा हुर्के जसले गर्दा मलाई काम गर्न सहज भयो ।

स्वास्थ्य उपचारको कुरा गर्ने हो भने अमेरिकामा धेरैका लागि यो ठूलै आर्थिक बोझको रुपमा रहेको पाइन्छ । मेरी एक छोरी हड्डी सम्बन्धी रोगका विरामी थिइन् । करिब दश वर्षसम्म उनको उपचार गर्नुपर्यो । मैले आफूलाई भाग्यवानी नै ठान्नुपर्छ कि म यस्तो देशमा जन्मिएँ जहाँ छोरीको उपचारका लागि मैले आफ्नो घरखेत बेच्नु परेन ।

उपचारको लागि चाहिने एकमुष्ठ रकम सार्वजनिक स्वास्थ्य प्रणालीबाटै आउने रहेछ । उपचार गर्दा उनको अस्पताल खर्च, डाक्टरको फी र मेरुदण्ड सिधा पार्न शरीरमा दश वर्षसम्म लगाउनु परेका विशिष्ट उपकरणहरूका लागि मैले एक हजार डलरभन्दा पनि कम मात्रै भुक्तानी गर्नुपर्यो ।

यो सबै हाम्रो लोककल्याणकारी राज्यको कमाल हो । नर्डिक मुलुकहरू यसका लागि प्रख्यात छन् । तर अमेरिकामा यो ‘लोक कल्याणकारी’ भन्ने शब्दलाई नै धेरैले फोहोरी शब्दका रूपमा लिएको अनुभव मैले गरेकी छु । तर धेरै अध्ययनहरूले देखाएको छ, लोक कल्याणकारी राज्यहरूले नागरिकको खुशियालीमा धेरै ठूलो प्रभाव पारेको हुन्छ ।

अमेरिकीहरू आफूलाई स्वतन्त्र ठान्छन्, तर उनीहरू आफूले सोचे भन्दा बढी नै अस्वस्थ आश्रयको जालमा फँसिरहेका छन् ।

कतिपय अमेरिकीहरू भन्ने गर्छन् कि मानिसको दैनिक जीवनमा सरकारको भूमिका अत्यन्त न्यून मात्रै होस् । यस्तो विचार राख्ने अमेरिकीहरू फिनल्याण्डको आलोचना गर्छन् र भन्छन्– फिनल्याण्ड त समाजवादको ‘फुच्चे’ राज्य हो जहाँ मानिसको वैयक्तिक जीवनमा समेत राज्यले धेरै बोलिरहेको हुन्छ ।

तर वास्तवमा फिनल्याण्डमा राज्यले सबै नागरिकलाई आफूले चाहेको गर्न सकियोस् भनेर स्वतन्त्र गर्ने कार्य गरेको हुन्छ । यो भनेको आर्थिक विकासको लागि मात्र होइन, समग्र समाज विकासको लागि पनि आवश्यक हुन्छ ।

अमेरिकाका कम्पनीहरू स्वास्थ्य योजना बनाउन र शिक्षित कामदार खोज्न धेरै लगानी गर्छन् । नर्डिक मुलुकहरू भने शुरुदेखि नै गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम कामदार उत्पादन गर्न सहयोग गर्छन् ताकि कुनै पनि कम्पनीका लागि शिक्षित कामदारको अभाव नहोस् ।

जिउनुको प्रमुख आधार मुटु भित्र रहेको खुशीमा हुन्छ, नकि अमेरिकामा जस्तो कमाउनुमा । धेरै पैसाले ठूल ठूला खुशीहरू सिर्जना गर्छ नै भन्न सकिँदैन । कहिलेकाहीं यसको उल्टो पनि गर्न सक्छ ।

जिउनुको प्रमुख आधार मुटु भित्र रहेको खुशीमा हुन्छ, नकि अमेरिकामा जस्तो कमाउनुमा । धेरै पैसाले ठूल ठूला खुशीहरू सिर्जना गर्छ नै भन्न सकिँदैन । कहिलेकाहीं यसको उल्टो पनि गर्न सक्छ ।

अर्थशास्त्री रिचार्ड इस्टर्लिनले गरेको एउटा सर्वेक्षण अनुसार आर्थिक आय र खुशीका बीच सधैँभरि सम्बन्ध हुनै पर्छ भन्ने छैन । अक्सरले नजरअन्दाज गरेका हुन्छन् तर यथार्थ के हो त भन्दा सधैँ आर्थिक आय मात्रै बढाउने योजनाका कारण समाजमा आर्थिक असमानताको ठूलो खाडल निर्माण हुन पुग्छ ।

मेरो देशमा अमेरिकामा जस्तो आर्थिक रुपमा अत्यन्त सम्पन्नहरू छैनन्, साथै तन्नम गरिब पनि छैनन् । फिनल्याण्डमा जस्तोसुकै गरिबीको रेखा मुनि बाँचेका मानिसले पनि आफ्नो सेवा र आफूलाई विपतबाट बचाउने कुनै न कुनै निकाय मुलुकमा विद्यमान छन् भनेर ढुक्क हुन जानेका छन् ।

सामाजिक क्षेत्रमा गरिने यो जम्मै खर्चको प्रमुख स्रोत हो कर । फिनल्याण्डका एक सामान्य मजदूरले तिर्ने कर पनि अमेरिकाका धनीहरूले तिर्ने कर भन्दा वेसी हुन्छ । फिनल्याण्ड संसारकै सबैभन्दा बढी कर तिर्नेहरूको मुलुक हो । अरु देशमा यति धेरै कर स्वीकार्य नै हुँदैन ।

अर्गनाइजेशन फर इकोनोमिक कोपरेशन एण्ड डेभलपमेन्टका अनुसार सन् २०२१ मा विश्वभरिका नागरिकले औसत २४.६ प्रतिशत कर तिरेका थिए भने फिनल्याण्डवासीले ३०.८ प्रतिशत तिरेको थियो । उनीहरूले गुणस्तरीय शिक्षा, कम मूल्यका सार्वजनिक पूर्वाधार र स्वास्थ्य जस्ता विषयका लागि यो कर तिरेका थिए ।

त्यसो त फिनल्याण्डसँग हरेक नागरिकलाई जीवनको अन्तिम समयसम्मै धनी बनाइराख्ने भन्ने खालको ‘अमेरिकी सपना’ छैन । तर हरेक नागरिकलाई समान अवसर प्रदान गर्ने र राज्यका निकायहरूप्रति विश्वास राख्ने एउटा अद्भूत सूत्र भनेर रहेको पाइन्छ । वास्तवमा खुशीको गुप्त मन्त्र पनि यही नै हो । यसले मानिसलाई सामाजिक एकता र खुशीतिर डोर्याउने गर्दछ जुन पैसाले गर्न सक्दैन ।