सिन्धुपाल्चोकका १ सय ९९ हेक्टर जङ्गल डढेलोले नष्ट

सिन्धुपाल्चोक, ११ वैशाख । सिन्धुपाल्चोकका १ सय ९९ हेक्टर जङ्गल डढेलोले नष्ट भएको छ ।

जिल्ला वन कार्यालय चौताराका अनुसार चौतारा साँगाचोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वनको जङ्गलमा डढेलोले सखाप पारेको हो ।

त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल डढेलाेले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलम्चीमा रहेको टारापाखा सामुदायिक वनको २६ हेक्टर जङ्गल पनि डढेलोले सखाप भएको छ ।

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कृष्णबहादुर थापाका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन ।

यसबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन् ।