खरबुजाको व्यापारबाट मनग्य आम्दानी लिंदै किसान

दाङ, १३ वैशाख । दाङकाे लमही नगरपालिका–४ ठूलो घुम्नाका महिला यतिबेला खरबुजा (थारु भाषामा हिनौना भन्ने गरिन्छ ) बेच्न व्यस्त छन् ।

आफ्नै बारीमा लटरम्म फलेका खरबुजा र तरकारी टिपेर सडक छेउमा गएर बिक्री गर्ने यहाँका किसान महिलाको हिजोआजको दैनिकी हो ।

यी किसान महिला लमही– गढवासडक खण्डको छेउमा खरबुजा र तरकारी बिक्री गर्न लस्करै बसेका हुन्छन् । राप्ती नदीले छोडेको बगरलाई मलजल गरेर उनीहरुले विभिन्न जातका तरकारी उत्पादन गरेका छन् । तरकारीका साथसाथै यतिबेला ति किसानका बारीमा खरबुजा लटरम्म फलेका छन् । पुस महिनामा रोपेको यो फल चैतमा तयार हुन्छ ।

लमही नगरपालिका–४ ठूलो घुम्नाका किसान देवकुमारी चौधरीले दुई कट्ठा जमिनमा बगरखेती गर्नुभएको छ । उहाँको बगर खेतीमा एउटै खरबुजा आठ किल्लोसम्म तौल भएको फलेको छ । उहाँले रु ४० प्रतिकिलोका दरले बिक्री गरिरहनु भएको छ ।

सडक छेउमा बसेर व्यापार गर्ने यहाँका किसानले तरकारीको एउटै मुल्य तोक्ने गरेका हुन्छन । सडकको छेउमा बसेर कम्तिमा पनि तीनहजार देखि माथि आम्दानी गर्ने गरेको किसान हरिलाल चौधरीले बताउनुभयो । एक घर परिवारले आठदेखि १० कट्ठा सम्ममा बगर खेती गर्ने किसानहरु पनि छन् । उनीहरुले मङ्सिर देखि चैत महिनासम्म बगर खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

मलिलो माटो भन्दा बालुवाको मात्रा बढी भएको जमिनमा यो खरबुजा फल्ने गर्छ । थोरै लगानीमा पनि राम्रो आम्दानी दिने भएकाले देउखुरीका प्रायः थारु समुदायका किसानले यो खेती गर्ने गर्दछन ।

ठूलो घुम्नाकै पुतली चौधरीले खरबुजा बिक्री गरेर अघिल्लो वर्ष रु १० हजार आम्दानी गरेको बताउनुभयो । ठूलो घुम्नामा झन्डै दुई सय घरधुरी किसानले बगरमा तरकारी र खरबुजा खेती गरेका छन् ।