आवसीय भ्रमणमा ओली कोशी प्रदेशमा, किसान आन्दोलनका परिवारसँग भेटदेखि जन्मभूमिसम्म यस्ता छन् कार्यक्रम
काठमाडौं, १४ वैशाख । चैतको पहिलो हप्ता नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तत्कालिन लुम्बिनी अञ्चलका विभिन्न जिल्लाको आवासीय भ्रमणमा निस्किनु भएको थियो । पञ्चायतकालका १५ वर्ष गोलघर र विभिन्न जेलमा विताउनु भएका ओली जेलमुक्त भएपछि पञ्चायतविरुद्धको आन्दोलनमा लुम्बिनी अञ्चलको कमाण्डरको जिम्मेवारीमा खटाइनु भएको थियो ।
०४५–४६ सालतिर सेल्टर बनाएर बस्नु भएका ओलीले झण्डै ३३ वर्षपछि आफू कमाण्डर तोकिएको क्षेत्रमा आवासीय भ्रमण गरेर नयाँ खालको सन्देश दिनुभएका ओली अहिले कोशी प्रदेशका विभिन्न जिल्लाको आवासीय भ्रमणमा हुनुहुन्छ । उहाँले करीब पाँच दिन कोशी प्रदेशका विभिन्न जिल्लाका कार्यक्रम र भेटघाटमा विताउनु हुने कोशी प्रदेश कमिटी सचिव चिन्तन पाठकले जानकारी दिनुभयो । बुधवार यति एयरलाइन्सको जहाजमार्फत विराटनगर पुग्नु भएका ओली बुधबार नै गृहजिल्ला झापा पुग्नु भएको थियो । उहाँले बुधबार नै झापाको शनिश्चरेमा रहेको अर्जुनधाराधाममा पुगेर दर्शन गर्नुभएको थियो ।
त्यसपछि उहाँ झापाको किसान आन्दोलनसँग जोडिनु भएको जयनारायण ओलीकी धर्ममत्नी कृष्णकुमारी ओलीलाई भेट्न उहाँकै निवासमा पुग्नु भएको थियो । त्यसपछि उहाँ बुद्धशान्ति गाउँपालिकाको एमाले कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँ सहभागी हुनुभएको थियो ।
त्यहाँ ओलीमाथि झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजारमा केही उच्छृङ्खल समूहले दुर्व्यवहारको प्रयास गरेका थिए । उहाँमाथि भएको दुर्व्यवहारको प्रयासको विभिन्नतिरबाट आलोचना भएको छ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले एक प्रेस विज्ञप्ति नै जारी गर्दै समाजमा शान्ति र मेलमिलाप भङ्ग गर्ने नियोजित षड्यन्त्र स्वरुप सत्तापक्षकै कार्यकर्ता समेतको नेतृत्वमा भएको त्यस घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । त्यस्ता अवाञ्छित कार्यमा संलग्नहरू माथि कडा कानुनी कारवाही गर्न जोडदार माग पनि गरेको छ । त्यहाँ सुरक्षामा खटिएका दुई प्रहरी घाइते समेत भएका छन् ।
ओली बुधबार बुद्धशान्तिको कार्यक्रम सम्पन्न गरेर इलाम जिल्लाको कन्याम पुगेर बस्नु भएको पाठकले जानकारी दिनुभयो । आज उहाँले इलाम जिल्लाकै जिल्ला परिषद्ले आयोजना गरेको सभालाई सम्वोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रमपछि आज उहाँ पाँचथरमा बस्ने कार्यक्रम छ । पाँचथरमा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ । उहाँ पाचथरपछि तेह्रथुम जाने कार्यक्रम छ । तेह्रथुम उहाँको जन्मभूमि पनि हो ।
त्यहाँ उहाँले नै जग्गा दान दिएर निर्माणमा भएको र सीटीइभीटीइले सञ्चालन गरेको प्राविधिक शिक्षालय भवन उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । त्यसपछि उहाँ गृहजिल्ला झापामा एक रात बस्ने कार्यक्रम छ । उहाँले झापा बस्ने क्रममा उहाँले यहि २८,२९ र ३० गते झापामा हुने केन्द्रीय कमिटी बैठकको तयारीबारे त्यहाँका नेता–कार्यकर्ताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको पनि पाठकले जानकारी दिनुभयो । उहाँ वैशाख १७ गते काठमाडौं फर्किने कार्यक्रम छ ।