प्रहरी संगठनलाई विवादमा तानेर भ्रामक सूचना फैलाउनेमाथि कानुनी कारबाही गरिने

काठमाडौँ, १२ कात्तिक । नेपाल प्रहरीले संगठनको प्रतिष्ठा र व्यावसायिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले भ्रामक सूचना फैलाउनेहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रहरी प्रतिबद्ध रहेको उल्लेख छ।

केही सञ्चारमाध्यममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा नागरिकमा भ्रम फैलिनुका साथै प्रहरी संगठनप्रतिको विश्वास र छविमा असर पर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले संगठनलाई कमजोर बनाउने वा विवादमा तानेर सरकारविरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने सोचका साथ नियोजित रूपमा भ्रामक सूचना फैलाउने सीमित व्यक्तिहरूमाथि प्रचलित कानुनअनुसार अनुसन्धान र कारबाही गरिने जनाएको छ।

साथै, प्रहरी कुनै पनि भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सर्वसाधारणलाई आधिकारिक तथा तथ्यमा आधारित सूचनामा विश्वास गर्न र अपुष्ट सामग्रीको प्रसार नगर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *