सम्भावित अर्नव चक्रवातलाई ध्यानमा राख्दै यातायात सञ्चालनमा सतर्कता अपनाउन आग्रह
अर्नव चक्रवात
काठमाडौँ, कात्तिक १२ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सम्भावित अर्नव चक्रवातका कारण मौसम प्रतिकूल हुन सक्ने भन्दै यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन व्यवसायीलाई आग्रह गरेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले आज सूचना जारी गर्दै आज रातिदेखि कात्तिक १४ गतेसम्म देशका विभिन्न प्रदेशमा खराब मौसमको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाएर सवारीसाधन सञ्चालन गर्न आग्रह गर्नुभएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई उद्धृत गर्दै महासङ्घले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसमको बढी प्रभाव पर्न सक्ने जनाएको छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हावाहुरीसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान रहेकाले यातायात सञ्चालन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
महासङ्घले सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै लामो तथा छोटो दूरीका यात्रुवाहक र मालवाहक सवारीसाधन सञ्चालन गर्न व्यवसायीलाई अनुरोध गरेको छ । मौसम तथा सडकको अवस्था जोखिमपूर्ण भएमा आवश्यकताअनुसार सवारी आवागमन रोक्न र त्यसअघि सर्वसाधारणलाई अग्रिम जानकारी गराउनसमेत आग्रह गरिएको छ ।
खराब मौसमका कारण सडक तथा हवाई यातायातसँगै दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न महासङ्घले सर्वसाधारणलाई अनुरोध गरेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमणमा जाने पर्यटकलाई यात्रा नगर्न र गन्तव्यमा पुगिसकेका पर्यटकलाई मौसम सामान्य नहुँदासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।
त्यसैगरी, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा परिवारलाई सम्भावित विपद् आउनुअघि नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न, विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिन सम्बन्धित निकायलाई महासङ्घले आग्रह गरेको छ ।
महासङ्घले मौसमसम्बन्धी जानकारीका लागि मौसम विज्ञान विभागको हटलाइन ११५५ तथा विपद्का बेला सहयोग माग्न १२३४, १०० वा १११४ मा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
