एसिसी प्रिमियर कप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं, १४ वैशाख । एसिसी प्रिमियर कप अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेकाे छ ।

नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा अलआउट हुँदै ८९ रनमा समेटियो ।

कतारका जाहिर इब्राहिम र खुराम शाहजादले सर्वाधिक १५ रन बनाए । ओपनर कमरान खान ८ रनमा आउट भए ।

नेपालका लागि सन्दीप लामिछानेले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । ललित नारायण राजवंशीले ५ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो ।नेपालका सन्दीप लामिछानेले ५८ बलमा ६ चौकासहित सर्वाधिक ४२ रनमा नट आउट रहेका थिए ।

रोहित पौडेलले ३६ बलमा २ चौकासहित २७ रन बनाएका थिए । आसिफ शेख २७ बलमा २ चौकासहित १९ रनमा आउट भए । नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो ।

कतारका आमिर फारुकले ९.३ ओभरमा ४२ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । क्वाइस अहमदले ३ विकेट लिए । गयान मुनाविराले २ विकेट लिए भने इक्रामउल्लाह खानले १ विकेट लिए ।

योसँगै नेपाल समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।