रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको परीक्षण उडान

गुल्मी, १५ वैशाख । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज परीक्षण उडान गरिएको छ ।

निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा आज बिहान ७ बजेर ३९ मिनेटमा निगमले जहाज अवतरण गरेर परीक्षण उडान गरेको हो ।

विसं २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल रु ३३ करोड लगातमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि एक हजार पाँच सय २६ मिटरको उचाइमा रहेको छ ।

आजको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिनुभयो । प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उहाँको भनाइ छ ।

कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने कँडेलले बताउनुभयाे । “रेसुङ्गा– काठमाडौँ उडानको भाडा अहिले प्रतिव्यक्ति सरदर रु छ हजार पाँच सय हुने भनिए पनि अन्तिममा रु छ हजारसम्म कायम हुनसक्छ”, उहाँले भन्नुभयो ।

निगमका क्याप्टेन मनिष विष्टले एक साताभित्र नागरिक उड्ययन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताउनुभयो । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते पनि परीक्षण उडान गरिएको थियो ।