प्रधानमन्त्री नै सदनमा आएर जवाफ दिनुपर्छ : उपाध्यक्ष पौडेल
काठमाडौं, १५ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना पार्टीका नेताहरुमाथि निरन्तर आक्रमणको प्रयास भइरहेकाे भन्दै सरकारसँग जवाफ माग्नुभएकाे छ ।
उहाँले अध्यक्ष केपी शर्मा ओलीमाथिको आक्रमणको प्रयासबारे शुक्रबार प्रतिनिधिसभाको बैठकमा बाेल्दै प्रधानमन्त्रीको जवाफ माग गर्नुभएकाे हाे ।
उहाँले इलामबाट फर्कदैगर्दा बाटोमा एम्बुस थापेर आक्रमणको प्रयास गरिएको र अहिले पाँचथर र तेह्रथुममा पनि आक्रमणको प्रयास गरिरहेकाे बताउनुभयाे ।
पौडेलले भन्नुभयाे, वहाँकाे नेतृत्वकाे सरकारले तोडफोड र आक्रमणको योजनाहरू बनाइरहेका छन् । तर, हाम्रो देशमा सरकार छ कि छैन ? अब गृहमन्त्रीले संसदलाई दिएको जानकारीले पुग्दैन । प्रधानमन्त्री स्वयंम सदनमा उपस्थित भएर जवाफ दिनुपर्याे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वकाे सरकारले देशमा अब शान्ति सुव्यवस्था कायम गर्न सक्छ की सक्दैन? आम जनताले शान्ति सुरक्षाको प्रत्याभूति गर्न सक्छ की सक्दैन यस्काे जवाफ दिनुपर्याे । उहाँले भन्नुभयाे, यो अपराध कर्ममा संलग्नहरूलाई अविलम्ब कानूनको दायरामा ल्याएर शान्ति सुरक्षाको प्रत्याभूति होस् ।