मदन भण्डारीको योगदानबारे सभामुख र एमाले नेताहरुको यस्तो छ धारणा
काठमाडौं, ३ जेठ । मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवस नेकपा (एमाले)ले आज मदन नगर बल्खुस्थित पुरानो पार्टी कार्यालयमा ‘मदन–आश्रित स्मृति कार्यक्रम’ गरेको छ । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो । भण्डारीको निधनबाट नेपाली कम्युनिष्ट एवं लोकतान्त्रिक आन्दोलनले अपूरणीय क्षति व्यहोरेको नेताहरू बताउँछन् ।
एमालेले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई पार्टीको सिद्धान्त बनाएको छ । एमालेले पाँचौँ राष्ट्रिय महाधिवेशनबाट जबजलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रूपमा पारित गर्दै सिद्धान्त बनाएको हो । जबजलाई एमालेले नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्तका रूपमा लिएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले भण्डारीको निधनबाट कम्युनिष्ट आन्दोलन मात्र नभई मुलुकले नै क्षति व्यहोरेको बताउनुभयो । छोटो समयमा संसद्मा खेलेको भूमिकाको चर्चा गर्दै उहाँले भण्डारीको अभाव अहिले पनि खट्किएको बताउनुभयो । ‘भण्डारी अहिले भइदिएको भए मुलुकमा अहिलेको समस्या आउँदैनथ्यो होला,’ सभामुख घिमिरेले भन्नुभयो ।
भण्डारी छोटो अवधिमा कम्युनिष्ट आन्दोलनलाई अगाडि लैजान, संसदीय राजनीतिमा जनताको बीचमा गएर पार्टीलाई लोकप्रिय बनाउन र पार्टीले लिएका नीतिलाई व्यवहारमा लागू गर्न सफल नेताका रूपमा सभामुख घिमिरे स्मरण गर्नुहुन्छ । विचारलाई व्यवहारमा उतारेर सबैलाई सञ्चालन गर्न सक्ने नेताको अभावले गर्दा अहिले राजनीति जसरी विकास हुनुपर्दथ्यो त्यो हुन नसकेको उहाँको भनाइ छ ।
‘नेता भण्डारी भइदिएको भए अहिले मुलुकमा जे समस्या देखापरेका छन्, यस्तो स्थिति आउँदैन्थ्यो भन्ने कुरा सजिलै भन्न सकिन्छ । त्यो कुराको महसुस मैले गरेको छु र अन्यले पनि गर्नुभएको होला’, सभामुख घिमिरेले भन्नुभयो ।
उहाँले विश्वभरि कम्युनिष्ट अन्दोलन कस्तो हुने भन्ने चर्चा भइरहेको बेला भण्डारीले सिर्जनात्मक ढङ्गले नेपालको कम्युनिष्ट आन्दोलन उचाइमा पु¥याउनुभएको थियो भन्दै भण्डारीले समकालीन राजनीतिमा माक्र्सवाद र लेनिनवाद सिद्धान्तलाई तत्कालीन परिस्थितिअनुसार वैज्ञानिक ढङ्गबाट बुझेर त्यस अनुरुप लागू गरेको स्मरण गराउनुभयो ।
‘भण्डारी आफ्नो समयमा माक्र्सवादलाई कस्तो र कसरी प्रयोग गर्नुपर्दछ भन्ने बारेमा माक्र्सवाद दर्शनलाई जनताको बहुदलीय जनवाद ९जबज० परिणत गरेर व्यवहारमा प्रयोग गर्न सक्ने सफल दार्शनिक नेता हुनुहुन्थ्यो’, सभामुख घिमिरेले भन्नुभयो, ‘माक्र्सवादलाई सिर्जनात्मक ढङ्गबाट देशको परिस्थितिअनुसार कसरी प्रयोग गर्न सक्नुपर्दछ भन्ने कुरामा स्पष्ट दृष्टिकोण राख्ने र त्यसलाई व्यवहारमा लागू गर्न सक्ने उहाँ सक्षम नेता हो ।’
एउटै कमिटीमा रहेर काम गर्नुभएका सभामुख घिमिरेले भण्डारी स्पष्ट दृष्टिकोण, सरल व्यवहार र आफ्नो कुरालाई तर्कले पुष्टि गर्न सक्ने नेताका रूपमा परिचित रहेको बताउनुभयो । भण्डारीले पुष्पलालसँग विद्रोह गरेदेखि नै आफुले सङ्गत गरेको घिमिरेले बताउनुभयो ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीसँग १५ वर्ष को–अर्डिनेशन केन्द्रको एउटै कमिटीमा रहेर काम गरेको बताउनुभयो । उहाँले जबजजस्तो गतिशील विचार निर्माण गरेर भण्डारीले माक्र्सवादलाई नेपालको विशिष्टितामा लागू गरेको उल्लेख गर्नुभयो । ‘भण्डारीले माक्सवार्दलाई नेपालको विशिष्टतामा लागू गर्न जबज सिद्धान्त बनाउनुभएको छ’, पोखरेलले भन्नुभयो, ‘एमालेले अहिले उहाँको विचार जबजलाई मार्गनिर्देशक विचारका रूपमा अँगालेको छ ।’ एमालेको नीति तथा कार्यक्रम जबजकै आधारमा रहेको उहाँको भनाइ छ । ‘सिद्धान्तलाई सिर्जनशीलतामा लागू गर्ने नेताका रूपमा भण्डारी चिनिनुहुन्छ’, नेता पोखरेलले भन्नुभयो, ‘भण्डारीले कम्युनिष्ट पार्टीका विचारलाई विशिष्टतामा लागू गर्नुभएको छ ।’
एमाले नेता मुकुन्द न्यौपानले भण्डारी र आश्रितको निधनले कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले विलक्षण प्रतिभा, सरल व्यवहार, आफ्नो अडान र दृष्टिकोणलाई तर्कसङ्गतरूपमा राख्न सक्ने कहिल्यै नबिर्सने दूरगामी नेताका रूपमा दुवैजना चिनिएको बताउनुभयो ।
न्यौपानेले २०३४ सालदेखि भण्डारीसँगै काम गरेको स्मरण गर्दै उहाँ जनताको भावना बुझ्ने नेताका रूपमा परिचित हुनुहुन्थ्यो भन्नुभयो । ‘दूरदर्शी क्षमताका साथै जनताको भावना बुझेर उहाँ व्यवहारमा लागू गर्नुहुन्थ्यो”, न्यौपानेले भन्नुभयो, “जननेता सबै हुदैनन्, उहाँमा जननेता हुने गुण थियो ।’
नेता न्यौपानले मनमोहन अधिकारीले पनि रुचाएको नेता भण्डारी भएको उल्लेख गदै अधिकारी र भण्डारीको साङ्गठनिक एकताले नै एमालेले २०४८ सालमा ६९ सिट तथा २०५१ सालको निर्वाचनमा पहिलो पार्टी भएको बताउनुभयो । उहाँले जनताको बीचमा गएर सङ्गठन विस्तार गर्ने भण्डारीको कार्यशैलीका कारणले एमाले जनताबीच लोकप्रिय भएको बताउनुभयो ।
भण्डारीलाई अध्ययनशील, छिटो कुरा बुझ्ने नेताका रूपमा न्यौपाने सम्झनुहुन्छ । उहाँका अनुसार भण्डारीमा विचारको व्यवस्थापन, सङ्गठन व्यवस्थापन र कार्यशैलीको व्यवस्थापनजस्ता गुण थिए । ‘उहाँ सधैँ जनताकहाँ जाने, जनतासँग लिने र जनतालाई नै दिनेजस्ता कुरा गर्नुहुन्थ्यो’, नेता न्यौपानेले भन्नुभयो । भण्डारीले अघि सार्नुभएको जबज सिद्धान्तलाई नेपालको माटो सुहाउँदो परिस्कृत गर्न सके मुलुकको विकास गर्न सकिने धारणा उहाँले राख्नुभयो ।
विश्व प्रसिद्ध अमेरिकी म्यागेजिन न्यूजविकले भण्डारीसँग लिएको अन्तर्वार्ताको हेडलाइनमा ‘इन नेपाल, कार्लमाक्र्स लिभ्स’ लेखिएको थियो । विसं २०४६ मा भएको नेकपा (माले) को चौथो महाधिवशेन र २०४७ सालमा नेकपा ९माले० र नेकपा ९माक्र्सवादी०बीच एकता भई भण्डारी नेकपा (एमाले) को महासचिव बन्नुभएको थियो । यस्तै एमालेको २०४९ सालमा भएको पाँचौँ महाधिवेशनबाट पनि उहाँ महासचिवमा चुनिनुभएको थियो । भण्डारी २०४८ सालको संसदीय निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो ।
रासस