लडाकुका नाममा गरेको भ्रष्टाचारमा दोषी ठहर भए जेल जान तयार छुः प्रचण्ड

काठमाडौं, ४ जेठ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटौं बैठक अहिले संघीय संसद् भवन, बानेश्वरमा बसिरहेको छ । निर्धारित समय भन्दा केही ढिला सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरूले सोधेको जवाफ दिइरहनु भएको छ ।

बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले ८ हजार ४ सय ६० जना लडाकुका नाममा विगतमा करीब पाँच वर्षसम्म राज्यकोषका नाममा अर्वौ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ, संसदमा विशेष समिति गठन गरेर त्यसको छानविन गर्न तपाईँ तयार हुनुहुन्छ भन्ने प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री प्रचण्डले त्यो सत्य ठहरिए जेल जान तयार रहेको बताउनुभयो । ‘प्रसङ्गबस विगतका कुरालाई पनि प्रष्ट गर्ने अवसर प्रदान गर्नुभएकोमा धन्यवाद,’ उहाँले भन्नुभयो, ‘पूर्व लडाकुलाई वितरण गरिएको रकममा व्यापक भ्रष्टाचार भयो भन्ने कुरा त्यो आरोपका निम्ति आरोप मात्रै हो भन्ने कुरा बढो जोड दिएर भन्न चाहन्छु ।’

उहाँले त्यतिबेला शान्ति सम्झौता भएर क्यान्टोनमेण्टमा जनमुक्ति सेनालाई राख्ने निर्णय भैसकेपछि क्यान्टोनमेण्टको भौतिक पूर्वाधार र योद्धाहरुका रासन–पानीका लागि भनेर राज्यबाट दिएको रकम र त्यसको अडिट रहेको दाबी गर्नुभयो । ‘त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र डाक्टर रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँहरुले समेत रुजु गरिसकेपछि त्यो पटाक्षप भैसकेको कुरा हो,’ उहाँले भन्नुभयो, ‘यसलाई अहिले राजनीतिक आग्रह र पूर्वाग्रहका साथ उठाउने प्रयास गर्दा म आँफै आश्चर्य चकित भएको छु ।’

उहाँले यदि त्यस्तो केही भए छानविन गर्नुपर्छ भने आफू तयार रहेको पनि बताउनुभयो । ‘मैले पहिला पनि मेरो राजनीतिक दलको घोषणापत्रमा २०४८ सालदेखिकै सबै घटनाहरुको, उच्चपदस्थ अधिकारीहरुको छानविन र भ्रष्ट्राचारको सम्वन्धमा छानिवन गर्न म तयार छु भनेर उल्लेख गरेको छु,’ उहाँले भन्नुभयो, ‘हामी सबै राजनीतिक तहमा एउटा संकल्पका साथ सहमति गरेर जाँदा सबै चिज छानविन गर्न सकिन्छ । त्यसले सुशासनको माध्ययमबाट भ्रष्टाचारको एउटा नयाँ युगको सुरुवात गर्न सकिन्छ ।’
उहाँले क्यान्टोनमेण्टको कुरा कपोलकल्पित र प्रर्वाग्रही भएको भन्दै कसैले उजुरी दिएकै भरमा छानविन गरेर दोषी ठहर भए आफैँ जेल जान तयार रहेको बताउनुभयो ।