अनगारिका डा. अनोजा गुरुमाको अन्तिम संस्कार, अस्पताललाई शव हस्तान्तरण

काठमाडौं, जेठ ५ । दिवंगत डा. अनोजा गुरुमाको अन्तिम संस्कार सम्पन्न गरी धुलिखेल अस्पताललाई शव हस्तान्तरण गरिएको छ । गत मंगलवार राति निधन हुनुभएका गुरुमाको शवलाई उहाँकै इच्छा बमोजिम चिकित्सकीय अध्ययन प्रयोजनका लागि धुलिखेल मेडिकल अस्पताललाई दान गरिएको हो ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहनुभएका डा. अनोजा गुरुमाको मेडिसिटी अस्पतालमा उपचार हुँदाहुँदै निधन भएको हो । उहाँ चोभारस्थित सुलक्षणकीर्ति विहारका प्रमुख हुनुहुन्छ । निधन पश्चात अन्तिम श्रद्धाञ्जलीका लागि दुई दिनसम्म उहाँको पार्थिव शरीरलाई सुलक्षणकीर्ति विहारमै राखिएको थियो ।

विहारमा उहाँको स्मरणमा भिक्षु भिक्षुणी, उपासक उपासिका एवं विभिन्न बौद्ध संघ संस्थाहरुबाट पूजा तथा स्तोत्र पाठ गरिएको थियो । साथै विहार संघ, अनगारिका संघ तथा उहाँको परिवारको तर्फबाट अन्तिम संस्कारका कार्यहरू सम्पन्न गरिएको थियो ।

उहाँलाई काठमाडौं महानगरपालिकाका तर्फबाट उपप्रमुख सुनिता डंगोलले राष्ट्रिय झण्डा ओढाई सम्मान प्रकट गर्नुभएको थियो । अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) या अध्यक्ष केपी ओलीकी धर्मपत्नी राधिका शाक्य, पूर्व मन्त्री एवं सांसद कृष्णगोपाल श्रेष्ठ, पूर्व मन्त्री डा. अजयक्रान्ति शाक्य, पूर्व राजदूत डा. अन्जान शाक्य लगायत गन्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

अन्तिम संस्कार सम्बन्धी कार्य पछि उहाँको शवलाई विहारदेखि शवयात्रा गरी कीर्तिपुर मार्गसम्म सम्मानपूर्वक पुर्याइएको थियो । त्यसपछि धुलिखेल अस्पताल तर्फ लगिएको थियो ।

नेपालमा थेरवादी बुद्ध धर्मलाई स्थायी तुल्याउन डा. अनोजा गुरुमाको ठूलो योगदान रहेको छ । उहाँ विभिन्न बौद्ध संघ संस्थाहरूमा आवद्ध रहनुभएको छ । बुद्ध धर्मसम्बन्धी उहाँका एक दर्जन पुस्तक प्रकाशित छन् ।

तस्बिरहरुः सन्देश मुनिकार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *