पाटनमा ३६२ वर्ष पुरानो अष्टमातृका नाच सुरु
ललितपुर, २६ असोज । नेवार सभ्यताको मौलिकता र तान्त्रिक परम्परासँग जोडिएको ललितपुरको ऐतिहासिक अष्टमातृका नाच (गँः प्याखँ) सुरु भएको छ। घटस्थापनादेखि ११ दिनसम्म सञ्चालन हुने यो नाच परम्परागत विधि र धार्मिक आस्थाका साथ प्रदर्शन गरिने अष्टमातृका नाच प्रबन्ध समितिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिनुभयो।
मल्लकालीन राजा श्रीनिवास मल्लको शासनकालमा नेपाल संवत् ७८४ देखि सुरु भएको मानिने यो नाच करिब ३६२ वर्ष पुरानो छ। हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन ललितपुरको नकबहिल परिसरमा विधिवत् पूजा गरेर नाचको शुभारम्भ गरिन्छ।
सोमबार बिहान बाजागाजासहित नागबहाल हुँदै मङ्गलबजार पुगेका देवगणलाई तलेजुका पुजारी राजोपाध्याय ब्राह्मणले पूजा गरी मूलचोकमा प्रवेश गराएपछि नाच औपचारिक रूपमा सर्वसाधारणका लागि प्रदर्शन गरिएको हो।
देशमा शान्ति, सुरक्षा र समृद्धि कायम हुनुका साथै जल, अग्नि, सिंह, सर्प, हात्ती, चोर, झ्यालखाना र भूतप्रेत गरी आठ प्रकारका महाभयबाट मुक्ति मिल्ने जनविश्वासका साथ यो नाच प्रदर्शन गर्ने परम्परा रहेको छ।
नाचमा नेवार समुदायका शाक्य र बज्राचार्य वंशका कलाकार सहभागी हुन्छन्। शक्तिको उपासनासँग सम्बन्धित यस नृत्यमा १३ देवगणलाई देवीदेवताका मुकुन्डो, परम्परागत तान्त्रिक भेषभूषा र विशेष गरगहना पहिराएर मण्डलाकार रूपमा नचाइन्छ। प्रत्येक देवगणको तान्त्रिक मुद्रा र भावभङ्गी फरक हुने भएकाले नाच अवलोकन गर्न स्थानीयवासी तथा संस्कृतिप्रेमीको भीड लाग्ने गर्छ।
नाचमा सिंघ्रिणी, भैरव, गणेश, कुमार, ब्रह्मायणी, महेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्रायणी, चामुण्डा, महालक्ष्मी र व्याघ्रिणी गरी १३ देवगण सहभागी हुन्छन्।
परम्पराअनुसार सुरुका चार दिन नकबहिलबाट सुरु भएर पाटन दरबार क्षेत्रको मूलचोकमा नाच प्रदर्शन गरिन्छ। त्यसपछिका पाँच दिन रातिको समयमा कात्तिक डबलीमा नाच देखाइन्छ। फूलपाती र विजयादशमीका दिन दिउँसो मूलचोकमा विशेष नृत्य प्रस्तुत गरिन्छ भने एकादशीका दिन नकबहिल डबलीमा अन्तिम नृत्य प्रदर्शनसँगै यस वर्षको जात्रा समापन हुन्छ।
अष्टमातृका नाचमा शैलेन्द्र शाक्यले विगत २६ वर्षदेखि कौमारी र भैरवको भूमिका निर्वाह गर्दै आउनुभएको छ। आयर्म बज्राचार्यले सिंघ्रिणी र सुप्रिन्स शाक्यले विगत १० वर्षदेखि व्याघ्रिणीको भूमिका निभाउँदै आउनुभएको छ।
नाच सुरु हुनुअघि कलाकारले आहारविहार शुद्ध गरी घटस्थापनाको अघिल्लो रात तन्त्र साधना गर्ने परम्परा छ। त्यसपछि बिहान न्याखाचुकस्थित नित्यनाथ मन्दिरको प्राङ्गणबाट परम्परागत पोसाक र गरगहनामा सजिएका देवगण मुकुन्डो नलगाई क्रमबद्ध रूपमा नागबहाल हुँदै नकबहिल पुग्ने गर्छन्।
ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको अष्टमातृका नाचले पाटनको मौलिक परम्परा, धार्मिक विश्वास र सांस्कृतिक वैभवलाई पुस्तौँदेखि जीवन्त राख्दै आएको छ।
