सडक सम्पर्क विच्छेद हुँदा आमाछोदिङमोका किसान सङ्कटमा

किसानका मर्का

काठमाडौँ, असोज २६ । बाढीका कारण सडक तथा पुल बगाएर यातायात सम्पर्क विच्छेद भएपछि रसुवाको आमाछोदिङमो गाउँपालिकाका किसान सङ्कटमा परेका छन् । उत्पादित तरकारी बजारसम्म पुर्‍याउन नसक्दा गाउँपालिकाका वडा नं १ देखि ५ सम्मका किसान मर्कामा परेका हुन् । गत भदौ १० गते आएको बाढीले सडक र पुलमा क्षति पुर्‍याएपछि उक्त क्षेत्र झण्डै डेढ महिनादेखि सडक सम्पर्कविहीन अवस्थामा छ। यातायात अवरुद्ध हुँदा किसानले उत्पादन गरेको बन्दाकोपी र आलु बजारसम्म पुर्‍याएर बिक्री गर्न पाएका छैनन् ।

लामो समयसम्म बजार पुर्‍याउन नसक्दा खेतबारीमै तरकारी कुहिने अवस्था आएको छ । यसबाट किसानको आम्दानी प्रभावित हुनुका साथै दैनिक जीविकोपार्जनमा समेत समस्या उत्पन्न भएको छ ।

किसानको उत्पादन बजारसम्म पुर्‍याउने बाटो खोल्न स्थानीय युवा तथा जनप्रतिनिधि पुल निर्माणमा जुटेका छन् । स्याफ्रुबेँसीस्थित खोलामा स्थानीयवासीको सक्रियता र श्रमदानमा काठेपुल निर्माणको काम अघि बढाइएको छ ।

आमाछोदिङमो गाउँपालिका ५ का वडाध्यक्ष रामबहादुर, वडा नं ४ का वडाध्यक्ष धर्म तामाङ तथा वडा सचिव छेवाङको अगुवाइमा स्थानीय बुद्धिजीवी, समाजसेवी र युवाको टोली पुल निर्माणमा सक्रिय भएको छ ।

स्थानीयस्तरबाट थालिएको पुल निर्माणले सडक सम्पर्क विच्छेदका कारण समस्यामा परेका किसानलाई राहत पुग्ने अपेक्षा गरिएको छ। पुल निर्माणपछि कृषि उपज बजारसम्म पुर्‍याउन सहज हुने र किसानको जीविकोपार्जनमा देखिएको समस्या केही हदसम्म समाधान हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *