प्रचण्डलाई ओलीको प्रश्नः राजश्व संकलनमा सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ?
काठमाडौं, ७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजश्व संकलनमा सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ? भनेर प्रधानमन्त्री प्रचण्डलाई कढा प्रश्न गर्नुभएको छ । आज संसदमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सम्वोधन गर्दै यस्तो प्रश्न गर्नुभएको हो ।
गत जेठ १ गते प्रधानमन्त्री प्रचण्डले कूटनीतिक समुदायसँग छलफल गर्दा देशको आर्थिक अवस्थाबारे ब्रिफिङ गरेको विषयप्रति लक्षित गर्दै ओलीले यस्तो प्रश्न गर्नुभएको हो । प्रचण्डले उक्त छलफलका क्रममा राजश्व संकलनमा अप्ठेरो परिरहेको विषय उठाउनु भएको थियो । विदेशी कूटनीतिक नियोगका अधिकारी, दातृ निकायका प्रतिनिधिलाई लक्ष्यअनुरूप राजश्व उठाउन समस्या भइरहेको भन्ने प्रचण्डको अभिव्यक्तिप्रति ओलीको कटाक्ष थियो ।
‘सरकार प्रमुखले दातृ समदायसँगको ब्रिफिङमा राजश्व संकलन कठिनाइ भएको कुरा उल्लेख गर्न मिल्छ ?,’ ओलीले भन्नुभयो, ‘राजश्व संकलन गर्न पनि सरकारले अन्तर्राष्ट्रिय समुदाय गुहार्न मिल्छ ? राजश्व उठाउने अनिवार्य प्राथमिक कर्तव्य सरकारको होइन र ?,’ आफ्नो प्रारम्भिक, प्रथम कर्तव्यमै सरकार असफल भएकोउहाँको टिप्पणी थियो ।’
उहाँले राष्ट्रिय तथ्यांक कार्यालयको प्रकाशनलाई विश्वास गर्ने कि, अर्थमन्त्रीको दाबीलाई सही भन्ने द्विविधा रहेको बताउनुभयो । ‘प्रधानमन्त्रीज्यूबाट कूटनीतिक समुदाय समक्ष भएको प्रस्तुतिलाई सही भन्ने कि, राष्ट्रपतिले प्रस्तुत गरेको नीति, कार्यक्रमको विवरणलाई सही भन्ने ? फरकफरक छन् विवरण ?,’ ओलीले भन्नुभयो ।