रुकुम पश्चिमकाे मुसीकोट नगरपालिकामा आँखा सर्जिकल सेन्टर स्थापना

रुकुम, २३ जेठ । रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टरको स्थापना गरिएकाे छ । नेपाल नेत्रज्योति सङ्घको पहल तथा राप्ती आँखा अस्पताल दाङको सहयोगमा मुसीकोट नगरपालिका–१ सल्लेमा सर्जिकल सेन्टरको स्थापना गरिएको हो ।

आँखा उपचार केन्द्र सल्लेलाई नै आँखा सर्जिकल सेन्टरको रुपमा विकास गरिएको आँखा उपचार केन्द्र सल्लेकाइञ्चार्ज धनबहादुर केसीेले जानकारी दिनुभयो ।

जिल्लाको आवश्यकता र सेवाग्राहीको मागका आधारमा सर्जिकल सेन्टरको सुरुवात गरिएको उहाँको भनाइ छ । आज जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले सर्जिकल सेन्टरको उद्घाटन गर्नुभयो ।

सेन्टरमा मोतियाविन्दु, जलविन्दु, आर्सनली बन्द भएको, मासु पलाएको समस्याको शल्यक्रिया हुने इञ्चार्ज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ३० लाख ५० हजार लागतमा सर्जिकल सेन्टरको स्थापना भएको हो ।

आँखा सर्जिकल सेन्टरका लागि थप उपकरण तथा अन्य व्यवस्थापन गर्न केही समय लाग्ने भएकाले आगामी आर्थिक वर्षदेखि सर्जिकल सेवाको सुरुआत गरिनेछ । विसं २०६८ मा आँखा उपचार केन्द्रको स्थापना भएको १२ वर्षपछि जिल्लामा आँखा सर्जिकल सेन्टरको स्थापना भएको हो ।