महागुरु फाल्गुनन्दको मार्गदर्शनले नैतिक र एकताबद्ध समाज निर्माणमा योगदान पुगेको छ : राष्ट्रपति पौडेल

काठमाडौँ, कात्तिक २५  । राष्ट्रपति रामचन्द्र पौडेलले महागुरु फाल्गुनन्दको मार्गदर्शनले समाजलाई नैतिक, सभ्य र एकताबद्ध बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ ।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक कुरीति र रूढीवादी परम्पराको अन्त्य गरी समाजलाई सही मार्गमा डोर्‍याउन फाल्गुनन्दले पुर्‍याउनुभएको योगदान स्मरणीय रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन फाल्गुनन्दको मार्गदर्शनले योगदान पुर्‍याएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलद्वारा जारी सन्देशमा किराँत धर्म र संस्कृतिको मौलिक पहिचान तथा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएका राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि खेल्नुभएको भूमिकाको सम्मानस्वरूप नेपालका विभिन्न जिल्लामा विशेष कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाउने गरिएको उल्लेख छ ।

महागुरु फाल्गुनन्दले धार्मिक गुरु तथा सामाजिक अभियन्ताका रूपमा समाज सुधार, धर्म, भाषा, लिपि र परम्पराको संरक्षण तथा विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुभएको राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले फाल्गुनन्द जयन्तीले सबैलाई सहिष्णुता, सद्भाव, सुशासन, अहिंसा र समाज सुधारको अभियानमा सक्रिय रहन थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *