छठीमाई र सूर्य भगवानलाई नेपाली सेनाले सलामी अर्पण गर्ने
छठ पर्व
काठमाडौँ, कार्तिक २६ । छठपर्वको अवसरमा नेपाली सेनाले यस वर्ष पनि छठीमाई र सूर्य भगवानलाई सैनिक विधिअनुसार सलामी अर्पण गर्ने भएको छ ।
वीरगन्ज महानगरपालिका १० स्थित घडिअर्वा छठघाटमा छठपर्वको मुख्य दिन यही कात्तिक २९ गते आइतबार साँझ नेपाली सेनाको श्री श्रीजङ्ग गणले विशेष कार्यक्रम आयोजना गरी सलामी अर्पण गर्न लागेको हो ।
श्रीजङ्ग गणका प्रमुख सेनानी लोकेन्द्र कार्कीका अनुसार उहाँकै नेतृत्वमा सेनाको विशेष टोलीले वाद्यवादनसहित परेड तथा मार्च गर्दै निर्धारित मार्ग परिक्रमा गर्नेछ । त्यसपछि छठघाट परिसरमा रहेको सूर्य भगवान्को मन्दिरमा पुगेर छठीमाई र सूर्य भगवान्लाई सैनिक परम्पराअनुसार सलामी अर्पण गरिनेछ ।
प्रमुख सेनानी कार्कीले नेपाली सेनाले यसअघि दसैँको सप्तमीका दिन नवदुर्गा भवानीलाई सलामी अर्पण गर्दै आएको उल्लेख गर्दै गत वर्षदेखि छठ पर्वमा पनि उक्त परम्परा सुरु गरिएको बताउनुभयो । छठ पूजा व्यवस्थापन समितिको आग्रहमा यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन लागिएको उहाँले जानकारी दिनुभयो ।
छठपर्वको अवसरमा नेपाली सेनाले छठीमाई र सूर्य भगवान्लाई सलामी अर्पण गर्ने परम्परा गत वर्षदेखि सुरु भएको हो । धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीक मानिने छठपर्वप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण र आस्था बढ्दै गएको छ ।
